नेपाली चलचित्रका गीतहरुले अहिले युटुबमा निकै राम्रो भ्यू पाउन थालेका छन् । दर्शकले मन पराएका गीतहरुले अब १ करोड पटक भ्यू पाउनु नौलो कुरा हुन छाडेको छ । बिहे, पार्टीदेखि विभिन्न समारोहहरुमा चलचित्रका गीत हाबी भैरहेका छन् । यो चलचित्र क्षेत्रका लागि खुशीको कुरा हो ।
जेठ १२ गतेबाट देशभरका हलमा रिलिज हुन लागेको प्रतिक्षित चलचित्र ‘पर्व’मा समावेश ‘काले दाई काले दाई’ बोलको गीत पनि अब १ करोड भ्यू पाउने गीतको सूचीमा जोडिएको छ ।
सार्वजनिक भएको ५ महिनामा यो गीतको भिडियो युटुबमा १ करोड भन्दा बढी पल्ट हेरिएको छ । चलचित्रको यो गीतका कारणले पनि चलचित्रको व्यापारमा फाइदा पुग्ने पक्का छ ।
मिना निरौला र निश्चल बस्नेतको स्वर, कोशिश क्षेत्रीको संगीत र दिनेश राउतको शब्द रहेको यो गीतलाई दर्शकले निकै मन पनि पराइरहेका छन् । भिडियोमा माला लिम्बु र निश्चल बस्नेतले नृत्य गरेका छन् । कविराज गहतराजले यो भिडियोको कोरियोग्राफी गरेका हुन् भने राजेश श्रेष्ठले खिचेका हुन् ।
सुवास गिरी र निकिता पौडेलले मिलेर बनाएको यो चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् । चलचित्रमा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्कीको मुख्य भूमिका छ ।