मुम्बई(एजेन्सी) । आमिर खान हरेक समयमा फिल्मका लागि आश्चर्यजनक काम गर्ने बलिउड कलाकारका रुपमा चिनिन्छन् । अब उनी फिल्म ‘ठग्स अफ हिन्दुस्तान’मा यस्तो काम गर्न जाँदैछन्, जुन काम सबैका लागि आश्चर्यको विषय बनेको छ । हाल प्रदर्शनरत फिल्म ‘बाहुबली २ द कन्क्लुजन’का नायक प्रभासले मैदानमा युद्ध लडिरहँदा आमिर चाहिँ समुन्द्रमा युद्ध लड्ने तयारी गरिरहेका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार यशराज फिल्मस्ले बनाउन लागेको यो फिल्मको एउटा फाइटको दृश्य समुन्द्रमुनि छायांकन गरिदैछ । सञ्चारमाध्यमले समुन्द्रमुनीको फाइट बाहुबलीको फाइट भन्दा भव्य हुने दाबी गरेका छन् । यस्तै किसिमको फाइटको दृश्य हलिउड फिल्म ‘पिरेट्स अफ़ केरेबियन’मा पनि छ । आमिरसँगै अमिताभ बच्चन र फातिमा सना शेखको अभिनय रहने फिल्मको कथा भारत स्वतन्त्र हुनुभन्दा अघिको परिवेशको हुनेछ । फिल्मको फाइटमा बढी मात्रामा तरबारको प्रयोग गरिनेछ । यो दृश्य खिच्नकै लागि फिल्म युनिटले अन्तर्राष्ट्रिय टिमको छनौंट गरिसकेको छ । जसले चाँडै नै कलाकारहरुलाई तालिम दिँदैछ ।
आमिर यो फिल्मलाई लिएर निकै उत्साहित छन् । फिल्मका लागि गम्भीर बनेका आमिर स्क्रिप्टलाई अझ मजबुत बनाउन सुटिङको सेड्युललाई अगाडि बढाउन निर्देशन दिइसकेका छन् ।