बलीउड निर्देशक शिरीष कुन्दरको प्रतिलिपी अधिकारी दाबीपछि प्रतिबन्धित नेपाली सर्ट फिल्म ‘बब’ पुन युट्युबमा आएको छ । प्रतिबन्धित भएपछि ‘बब आफ्नो मौलिक सिर्जना’ हो भन्दै युट्युबमा फर्काउन बब निर्देशक अनिल न्यौपानेले पत्र पठाएका थिए । नेपाली फिल्म ‘बब’ २०१६ मे १२ मा युटयुबमा सार्वजनिक गरिएको थियो । बलिउड निर्देशक कुन्दर निर्देशित सर्ट फिल्म ‘कृति’ युट्युबमा रिलिज भएपछि नेपाली सर्ट फिल्म बबबाट चोरिएको चर्चा चलेको थियो। सन् २०१५ अक्टोबरमै बबको सुटिङ सकाइएको थियो । त्यही वर्ष नोभेम्बर ८ मा निर्माणपक्षले ‘भिमियो’ नामक भिडियो वेबसाइटमा अपलोड गरेको थियो । कृति सार्वजनिक भएपछि बब निर्देशक अनिलले कृति आफ्नो फिल्मबाट चोरिएको भन्दै फेसबुकमा स्टाटस पोष्ट गरेका थिए । साथै उनले ‘कृति आफ्नो फिल्म बबबाट चोरिएको’ भन्दै निवेदन दिएपछि युट्युबमा कृति प्रतिबन्धित भएको थियो।