अभिनेता आर्यन सिग्देल र अभिनेत्री रेखा थापाको लामो समयदेखि शीत युद्ध चलिरह्यो । पछिल्लो सात बर्ष यी दुईको बोलचाल पनि भएन् । तर अब भने १२ बर्षमा खोलो फर्किन्छ भने झैं ७ बर्षमै खोलो फर्किएको छ र आर्यन रेखा एक अर्काको अंगालोमा बाँधिएका छन् ।
अंगालोमा मात्र बाँधिएनन्, रेखा आर्यनले एकसाथ पर्दामा स्कृन सेयर गर्न पनि तयार भए । ‘कसले चोर्यो मेरो मन’को हिट जोडी एकले अर्काको अस्तित्व स्विकार गर्न नसक्दा अनि को भन्दा को कमको रटान र घमण्डका कारण दुई चीरा पर्यो । भेटघाट त के पछिल्ला दिनमा एउटै कार्यक्रममा उपस्थित हुँदा सकभर एकले अर्कोलाई हेर्नै नपरोस् भन्ने अनि आमन्ने सामन्ने भए तर्कि हाल्न खोज्ने रेखा आर्यनको बारेमा मिडियामा पनि धेरै गसिप बने्, समाचार आए दर्शकसम्म पनि यी दुई पुनः फिल्म गर्दैनन् भन्ने भान पर्यो ।
तर रेखाले आर्यनलाई नखोजी सुख पाईनन् कि के भनौं, घोषणा भएको आफ्नै ब्यानरको फिल्म ‘रुद्रप्रिया’मा लिड अभिनेतामा अनुबन्ध गरेकी छिन् । जहाँ आर्यनको अपोजिटमा उनी हुनेछिन् । रेखा आर्यनको मिलनलाई धेरैले आश्चर्य मानेका छन् त कतिले पछिल्लो परिप्रेक्षमा स्वभाविक भनेका छन् ।
स्वभाविक कुन मानेका हुनसक्छ भने रेखा र आर्यनको जुन समयमा घमण्ड सुरु भयो र बोलचाल बन्द भयो, त्यो समयको जस्तो स्टारडम दुबैको छैन् । सिंगल स्कृनकी रानी सम्झिने रेखाको पछिल्लो समय स्टारडम खस्किँदो छ, रेखा नामकै कारण फिल्म चल्ने अवस्था कम छ । उता आर्यन पछिल्लो दुई बर्ष यता नै ओरालो लागेको स्टारडमले तनाबमा छन् ।
नम्रता श्रेष्ठसँग जोडी बाँध्दा केहि आशा देखिने अनुमान लगाइए पनि आर्यनको नाममा फिल्म चल्ने अवस्था छैन् । पछिल्लो पुस्तामा प्रतिभावान कलाकारले टक्टर दिनु, थियटर आर्टिस्टहरुको बाहुल्यता बढ्नु आर्यन र जीवन लुईंटेल नामको लागी टाउको दुखाई बन्यो । त्यसैले त ‘क्लासिक’ रिलिजपछि उनले फिल्म नै पाएनन्, बाहिरी बहाना आफ्नै ब्यानरमा काम गर्ने भनेर तर्केको बन्यो ।
त्यसैले नेपाली पर्दामा सफल मानिने रेखा आर्यन पुनः जोडिनुलाई एकले अर्काको आड र भरोषा खोजेको स्पष्ट मान्न सकिन्छ । ‘ढुङ्गाको भर माटो’ भनेझैं एक समयको चर्चित अनि हिट जोडी पुनः एकसाथ आउँदा दर्शकको साथ मिल्ने आशा दुबैमा हुनसक्छ । तर नाटकिय शैलीमा उल्लेखित धेरै कुरा भईसक्दा पनि दर्शकले पत्याएनन् भने त्यो समयमा भने आश्चर्य मान्ने ठाउँ रहनेछैन् ।