सोमबार काभ्रेमा भएको बस दुर्घटनाबारे भएको प्रारम्भिक अनुसन्धानमा बसका चालकको सवारी अनुमति पत्र (लाइसेन्स) नै नक्कली हुनसक्ने देखिएको छ।
काठमाडौँबाट काभ्रेको कातिके देउरालीका लागि सोमबार छुटेको यात्रुबाहक बस बिर्ता देउरालीमा दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको थियो भने ५० भन्दा बढी घाइते भएका थिए।
भौतिक पूर्वाधार एवम् यातायात मन्त्री रमेश लेखकले अस्पतालमा पुगेर दुर्घटनाका घाइतेसँग कुराकानी गरेपछि सरोकारवालासँग मन्त्रालयमा छलफल गर्दा लाइसेन्स नक्कली भएको सूचना प्राप्त भएको हो।
काठमाडौँको बसपार्कबाट १९ यात्रु लिएर हिँडेको उक्त बसमा बीच बाटोबाट भूकम्पबाट घर भत्किएका लागि उपलब्ध गराउने पैसा लिन हिँडेका व्यक्ति धेरै चढेका थिए।
काभ्रे दुर्घटनाका बस चालकले प्रयोग गरेको अनुमति पत्रको नम्बर यातायात व्यवस्था कार्यालयबाट अर्कैको नाममा जारी भएको रेकर्डबाट फेला परेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जनाइएको छ।
मन्त्री लेखकले मुलुकमा पछिल्लो समय सडक दुर्घटनाका घटना बढेपछि सरोकारवाला पक्षलाई आज मन्त्रालयमा बोलाएर त्यस विषयमा गम्भीर चासो व्यक्त गरेका हुन्।
उनले सोमबार काभ्रेमा भएको सडक दुर्घटनालाई गम्भीर र सम्बेदनशील घटनाको रुपमा लिएर यातायातसम्बन्धी कानुनलाई कडाइका साथ कार्यान्वयन गर्न मातहतका निकायका पदाधिकारीलाई निर्देशन दिए।
सो छलफलमा मन्त्रालयका सचिव, विभागीय प्रमुख, यातायात व्यवसायी, सडक विभाग, नेपाल प्रहरी र उपत्यका ट्राफिक कार्यालयका उच्च पदाधिकारी सहभागी थिए।
त्यस अवसरमा मन्त्री लेखकले भने– ‘‘सडक दुर्घटना ज्यादै बढेको छ । यो अत्यन्त सम्बेदनशील कुरा हो । हिजो काभ्रेको बस दुर्घटनाका घाइते भेट्न अस्पताल गएकोमा त्योभन्दा पहिला ओखलढुङ्गामा भएको अर्काे दुर्घटनाका घाइते पो भेटिएको अवस्था छ ।’’
प्रहरी चालकलाई, चालक साहुलाई, साहु सडकलाई दोष दिएर अब कति उम्कन सकिन्छ भन्दै मन्त्री लेखकले दुर्घटनापछिको अनुसन्धानका प्रतिवेदन र कानुन कार्यान्वयन नहुनुको कारणका बारेमा खोजी हुनुपर्नेमा जोड दिए।
पानी परेको समय, कच्ची उकालो भिरको बाटो भए पनि क्षमताभन्दा तीन दोब्बर भारबहन र चालकको लापर्बाहीकै काभ्रेको दुर्घटना निम्तिएको सरोकारवालको निष्कर्ष रहेको छ ।
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका उपाध्यक्ष सरोज सिटौलाले घाइतेको तत्कालै उपचारको लागि महासङ्घका तर्फबाट हरसम्भव प्रयास गरेको जानकारी दिए।
महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रकाश अर्यालले कानुनको पालनामा चालक र यात्रुले बेवास्ता गर्दा यस्ता दुःखद् दुर्घटना हुने गरेको बताए। राससको सहयोगमा (पहिलोपोस्ट )