मुम्बई(एजेन्सी) । बलिउड बादशाह शाहरुख खानको अभिनय रहने आनन्द एल रायको नयाँ फिल्मको छायांकन चलिरहँदा फिल्ममा दुई नायिका को को हुने भन्ने आफ्नै किसिमका शंका आशंका चले । कसैले क्याट्रिना कैफ, दीपिका पादुकोण भन्दा कोहीको मुखमा आलिया भट्टको नाम पनि आयो ।
तर अब सबै कुरा फाइनल भईसकेको छ । फिल्ममा शाहरुख पुनः एकपटक अनुष्का शर्मा र क्याट्रिना कैफसँग रोमान्स गर्दैछन । यी कलाकारले यसअघि यश चोपडाको अन्तिम फिल्म ‘जब तक है जान’मा सँगै काम गरेका थिए । उनीहरु पुनः पर्दामा सँगै
देखिने भएपछि केही दर्शकले अघिल्लो फिल्मको सिक्वेल हेरेको अनुभुति गर्न सक्ने फिल्म विश्लेषकहरुले बताएका छन् ।
शाहरुख र अनुष्का सँगै काम गरेको यो चौथो फिल्म हुनेछ । अनुष्काले करियरको शुरुवात नै शाहरुखसँग फिल्म ‘रब ने बनादी जोडी’बाट गरेकी थिइन् । त्यसपछि उनीहरुले ‘जब तक है जान’मा काम गरे । अहिले पनि उनीहरु इम्तियाज अलीको फिल्ममा काम गरिरहेका छन् । बलिउडमा काजोल र शाहरुखको जोडी हिट भएजस्तै हाल अनुष्का र शाहरुखलाई पनि हिट जोडीमा लिइन्छ । हाल सलमानसँग फिल्म ‘टाइगर जिन्दा है’को छायांकनमा व्यस्त क्याट्रिना त्यो फिल्म सकेपछि मात्र शाहरुखको फिल्ममा व्यस्त हुनेछिन् । त्यसपछि उनी आमिर खानसँग ‘ठग अफ हिन्दुस्तान’मा जानेछिन् ।