शुक्रबारबाट रिलिज भएको चलचित्र ‘पर्व’ले ३ दिनमा करोड ग्रसको कमाई गरेको यसको निर्माणपक्षले दाबी गरेको छ । निर्माता सुवास गिरीले चलचित्रले ३ दिनमा करोड ग्रसको व्यापार गरेको दाबी गरे ।
राम्रो ‘वर्ड अफ माउथ’का कारण चलचित्रले सोमबार बिहानैदेखि सुखद व्यापार गरिरहेको भन्दै सोमबार परेको सार्वजनिक बिदाका कारण चलचित्रलाई फाइदा मिलेको निर्माता गिरीले बताए । उनले थपे, ‘शुक्रबार देशभरबाट चलचित्रले ३० लाखको कमाई गरेको थियो । शनिबार व्यापार ७० लाखको भएको छ । आइतबार देशभरबाट १४ लाखको मात्र व्यापार भयो ।’
उनले ३ दिनमा चलचित्रले १ करोड ग्रसको व्यापार गरेको जानकारी दिदै एक सातामा लगानी सुरक्षित हुने आशा व्यक्त गरे । दिनेश राउतको निर्देशनमा तयार भएको यो चलचित्रमा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्की लगायतका कलाकारको अभिनय छ ।
शुक्रबार काठमाण्डौको क्यूएफएक्सले ७ शो दिएकोमा सोमबारबाट बढाएर ९ पुर्याएको छ । यस्तै, के एल टावरमा पनि एउटा शो थपिएको छ भने वीएसआर हलमा भने एउटा शो थपिँदा काठमाण्डौ बाहिर ७ वटा हल थपिएको निर्माणपक्षले जानकारी दिएको छ ।