प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पहिलो महिनाको तलब सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को नाममा स्थापित’ धुर्मुस-सुन्तली फाउण्डेशन’ लाई दिने घोषणा गरेका छन् । वुधबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा ‘धुर्मुस सुन्तली’सँग भेट गर्दै प्रधानमन्त्री प्रचण्डले धुर्मुस-सुन्तलीले भूकम्पपछि गरेको समाजसेवाबाट आफु प्रभावित भएको बताए । उनले धुर्मुस सुन्तलीलाई भने –“म तपाईहरुले गर्नुभएको कामबाट खुसी छु । जसरी तपाईहरुले भूकम्प गएपछि पुर्ननिर्माणमा दिलोज्यान दिएर लाग्नु भएको छ त्यसका लागि म धन्यवाद दिन चाहन्छु । आज तपाईहरुका कारणले धेरैले बस्न, खान पाएका छन्, त्यो देखेर म निकै खुसी छु ।”
उनले अगाडी थप्दै भने –“भूकम्पपछि तपाईहरुले गर्नुभएको कामबाट देशमा सकारात्मक सन्देश प्रवाह भएको छ, जसले एउटा संस्कारको रुपमा वकास गर्दैछ । तपाईहरु अगाडी बढ्नुहोस् म तपाईहरुको साथमा छु ।” भेटमा धुर्मुस–सुन्तलीले निर्माण गरेको एकीकृत नमुना बस्तीलाई सरकारले प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । भेटमा धुर्मुस–सुन्तलीले आफूहरुलाई सरकारले सरसफाई दुत नियुक्त गरे पनि सामाजिक अभियानमा गर्नसक्ने सहयोगका लागि पर्याप्त अधिकार नभएको, पूनर्निर्माणले तिब्रता नपाएको भन्दै नयाँ सरकारले यसमा संवेदनशील भएर काम गर्ने आशा लिएको बताएका थिए ।