काठमाडौं । भलिबल खेलाडी सिपोरा गुरुङ अभिनित फिल्म ‘भुँइमान्छे’को अडियो सार्वजनिक भएको छ । राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा फिल्मको टिजर पनि सार्वज्निक गरियो । फिल्म आगामी साउन २० गते रिलिज हुँदैछ ।
नबराज बुढाथोकीको निर्देशनमा तयार भएको यस फिल्ममा शव चिर्ने मान्छेको मनोविज्ञान देखाइएको छ । पत्रकार सम्मेलनमा फिल्मका निर्माता रोहिणी भट्टराई, निर्देशक नवराज बुढाथोकी, कलाकार रमेश बुढाथोकी र सहिन प्रजापतिको उपस्थिति रहेको थियो । सिपोरा काम विशेषले देश बाहिर रहेको हुँदा पत्रकार सम्मेलनमा भने सहभागी हुन् पाइनन् ।
निर्देशक बुढाथोकीले फिल्ममा अस्प्तालमा पोस्टमार्टम गर्ने मान्छेको कथा देखाइने बताए । ‘दैनिक लाश चिर्ने मान्छेको जीवन कस्तो हुन्छ । उसलाई समाजले कसरी हेरेको हुन्छ । उसको मनोविज्ञान कस्तो होला ? यिनै कुराहरुलाई फिल्ममा समेटिएको छ,’बुढाथोकीले भने,‘ आफ्नो भब्य घरमा एक्लै बस्दै आएकी एउटी युवती, किन एक्लै वस्दै आएकी हो त ? उसको जीवनमा के कस्ता आरोह अवरोह आईपर्छन भन्ने कुरा पनि फिल्ममा हेर्न पाईन्छ ।’
फिल्ममा चिकित्सकको भूमिकामा देखिएका अभिनेता रमेश बुढाथोकीले फिल्मले चिकित्सा क्षेत्रका विकृतिहरुलाई पनि देखाउने खुलाए । शैली ईन्टरटेन्मेन्ट एण्ड मुभिज प्राली र शैली थिएटरको प्रस्तुति रहेको फिल्ममा सिपोरा गुरुङ, रमेश बुढाथोकी, सहिन प्रजापति, रोहणी भट्टराई, बादल भट्ट, रामबाबु रेग्मी, शसांक बोहोरा, आर्यन न्यौपाने, नारायण न्यौपाने, सानु ताम्राकार, सौरभ ढकाल, हरि यादवको अभिनय छ । फिल्ममा विशेष भूमिकामा तारा केसी, पुष्कर गुरुङ र नविन श्रेष्ठ छन् ।
फिल्ममा विदुर पाण्डेको छायांकन, गम्भिरराज कर्णिकार र मधुसुदन सञ्जेलको सम्पादन, श्रीकृष्ण श्रेष्ठको भीएफएक्स र ग्राफिक्स, अर्जुन पोखरेल र देवेन्द्र राईको संगीत, महेश पौड्याल र दयाराम पाण्डेको गीत, कमल राई र कविराज गहतराजको नृत्य र अष्ट महर्जनको द्वन्द्व छ । फिल्ममा रोहिणी भट्टराई निर्माता छन् ।