केही दिन अगाडी मात्र नेकपा माओवादीले सरकारबाट समर्थन फिर्ता लिएरपछि संकटमा परेको प्रधानमन्त्री केपी शर्मा ओली सरकारले राजीनामा पनि दिइसकेको छ । सरकारबाट समर्थन फिर्ता लिएपछि संसद् भवनमा अविश्वासको प्रस्ताब पेश गरेको माओवादीको सोही अविस्वासको प्रस्ताबमाथी उत्तर दिँदै गर्दा प्रधानमन्त्री ओलीले राजीनामा दिएको घोषणा गरेका हुन् । शिष्ट शैलीमा स्रसद् भवनमा केपी ओलीले राजीनामा दिएपछि अहिले केपी ओलीको प्रशंसा नगर्ने कोही पनि छैनन् । उनलाई महान पुरुषको नाम दिँदै अहिले सामाजिक सञ्जाल देखी चिया पलससम्ममा बहस भइरहेको छ । अबको केही दिन भित्रमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्दैछन् र प्रधानमन्त्री ओलीले बालुवाटारबाट विदा लिदैछन् । यही क्रममा हाँस्य व्यंग्य कलाकारहरुको समुह सिस्नुपानी नेपालले बिहिबार बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर सात दिन भित्रमा बालुवाटार क्वाटर छोड्न चेतावनी दिएका छन् । सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नाङ्गे, वरिष्ठ हास्य व्यंग्य अभियन्ता मनोज गजुरेल, अर्जुन पराजुली, टंक आचार्य सहितको टोलीसँग झण्डै आधा घण्टा विताएका केपी ओलीले हाँस्यकलाकारहरुको हाँस्यव्यंग्य पनि सुने । प्राय सधै विभिन्न कार्यक्रममा ओलीको आलोचना गर्दै व्यंग्य प्रस्तुत गर्ने गरेका सिस्नुपानी नेपालका कलाकारहरुले बालुवाटारमा भने ओलीको खुबै प्रशंसा गरे । प्रधानमन्त्री ओलीको प्रशंसा गर्दै हाँस्यकवी तथा सिस्नुपानीका ब्रिगेड कमाण्डर टंकराज आचार्यले एक घतलाग्दो कविता सुनाइहाले । उनले ‘जाबो राष्ट्रियता नबेच्ने, बदनामी नकमाउने, नझुकाउने टाउकोः धन्नै जन्मिएको रहेछौं छोरो, केपी ओलीका बाउको ।’ भन्दै ओलीको प्रशंसा गरेपछि प्रधानमन्त्री ओलीले पनि गम्भिर हुँदै जबाफ दिए ‘देशले रगत मागे मलाई बलि चढाउनू, रुँदिनन् मेरी आमा हुन् कुमाइकी छोरी ।’ ओलीले यसो भन्दा कार्यक्रममा सहभागी सबै स्तब्भ भएँ । सोही क्रममा सिस्नुपानीका अध्यक्ष लक्ष्मण गाम्नागेले अल्टिमेटम प्रस्तुत गरेका थिए । प्रधानमन्त्रीलाई बुझाएको अल्टिमेटम पत्रमा भनिएको छ, ‘बिदेशी प्रभुका अगाडी लम्पसारपनि नपर्ने, स्वदेशी प्रभुलाई ज्यु हजुरीपनि नगर्ने, मित्ररष्ट्रको एउटा मागपनि पूरा नगर्ने, भित्ररास्ट्रको बाहेक कुरै नगर्ने, ठाड्ठाडै बोल्ने, मनको कुरो सप्पै खोल्ने, कुर्सी जाँदापनि मुसुक्क हाँस्ने, धम्की खाँदापनी निर्धक्क बाँच्ने, ‘बालुवाटार’मा बसेरपनि ‘पालुवा बहार’को सपना बाँड्ने तपाईं केपि शर्मा ओलीलाई प्रधानमन्त्री क्वाटर छोड्न सातदिनको अल्टिमेटम दिईन्छ ।’ जवाफमा प्रधानमन्त्री ओलीले मुस्कान मात्र छोडे । त्यस्तै सिस्नुपानी प्रवक्ता मनोज गजुरेलले भने, ‘हामीहरु ओली पुराण सुन्न र गजुरियल विश्लेषण सुनाउन आएको नभएर ‘बालकोट फर्कँदा प्रधानमन्त्री कार्यलय वा निवासका कुनैपनी सरकारी सामान नीजि बनाएर नल्याउनु भन्ने सन्देश दिन आएका थियौं ।’