मुम्बई(एजेन्सी) । बलिउड स्टारहरु आजकल केवल अभिनयमा मात्र सन्तुष्ट छैनन् । आफ्नो कामको जीवनभर मूल्यांकन पनि होस् भन्ने उद्देश्यले अभिनयँगै गायन र प्रोडक्सनमा पनि ध्यान दिन थालेका छन् ।
फिल्म ‘स्टुडेण्ट अफ द इयर’बाट बलिउडमा डेब्यु गरेकी अभिनेत्री आलिया भट्ट पनि बलिउडमा केही नयाँ काम गर्नुपर्छ भन्ने सोचले फिल्म निर्माणको योजना बनाउँदैछिन् । अभिनेत्रीहरु अनुष्का शर्मा र प्रियंका चोपडा पछि आलियाले पनि फिल्ममा लगानी गर्ने सोच बनाएकी छन् । उनी पछिल्लोपटक सशांक खैतानको फिल्म ‘बद्रीनाथकी दुल्हनिया’मा बरुण धवनका साथ देखिएकी थिइन् ।
‘मसँग केही निश्चित विषयहरु दिमागमा खेलिरहेका छन् । तर त्यसमा कोही पनि निर्माताले पैसा लगानी गर्न चासो देखाएनन् । त्यसकारण आफै किन फिल्म नबनाउने भनेर सोचिरहेको छु । म अरु नै कलाकारका लागि भए पनि आफै लगानी गर्न चाहन्छु ।’ आलियाले भनेकी छन् ।
आफै फिल्म बनाउने सोचकै कारण उनले कुनै पनि फिल्ममा कामका लागि स्वीकृति दिएकी छैनन् । तर उनले फिल्म बनाउने योजना अघि नै रणवीर कपुरसँग ‘ड्रागन’ र रणवीर सिंहसँग ‘गली ब्वाई’मा अनुबन्धित भईसकेकी छन् ।