मुम्बई(एजेन्सी) । फिल्म ‘भाग मिल्खा भाग’मा म्याराथुन धावक बनेका बलिउड अभिनेता फरहान अख्तर अब दर्शकमाझ बक्सर बनेर आउने भएका छन् । निर्देशक मोहित सुरीले निर्देशन गर्ने एक अनटाइटल फिल्मका लागि फरहान बक्सर बन्न लागेका हुन् । गोल्डी बेलको लगानी रहने फिल्मले बाबुछोराको सम्बन्धलाई प्रस्तुत गर्नेछ ।
निर्देशक मोहितका अनुसार फिल्मको कथा उनकै जीवनीमा आधारित हुनेछ । फिल्ममा बाबुछोराबीच आउने द्वन्द्व र प्रेमको कथा उनी र उनका पिताकै वास्तविक घटनामा रहनेछ । उनले आफू ८ वर्षको उमेरमा रहँदा आमा बितेपछि आफूलाई पालनपोषण गर्न पिताले गरेको संघर्षबाट नै आफु प्रभावित भएको बताए । आमा बित्दा उनको पिताको उमेर मात्र ३६ थियोे ।
फिल्मको स्क्रिप्टबाट फरहान प्रभावित भएको निर्देशकले बताए । फिल्ममा फरहानको छोराको भूमिकामा अभिनय गर्ने कलाकारको खोजी भइरहेको छ । मोहितले आफू अमेरिकामा दुई हप्ताको घुमाई सकेर भारत फर्किएपछि फिल्मको काम गर्ने बताए । फिल्ममा फरहान पहिलो चरणमा छोराको भूमिकामा र दोस्रो चरणमा बाबुको भूमिकामा देखिनेछन् । फरहान हाल बक्सरको जस्तो शरीर बनाउनका लागि तालिमरत छन् ।