मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री तथा नेपाली चेली मनिषा कोइरालाले झण्डै पाँच वर्षको विश्राम पछि फिल्म ‘डियर माया’मार्फत दर्शकमाझ आईन् । प्रेम प्राप्तिका लागि सबैकुरा त्याग्ने भूमिकामा देखिएकी मनिषा यो फिल्मबाट चर्चा पनि पाइन् । अब मनिषा बलिउड अभिनेता सञ्जय दत्तको बायोपिक फिल्ममा रणवीर कपुरको आमाको भूमिकामा देखिँदैछिन् ।
मनिषाले सञ्जय पात्र रणवीरकी आमा अर्थात नरगिस दत्तको भूमिकामा फिल्ममा देखिन पाउनु आफ्ना लागि अवसर र चुनौति दुवै भएको बताएकी छन् । ‘नरगिसजीको भूमिकामा देखिनु चुनौति र अवसर दुवै हो । मलाई लाग्छ म यो भूमिकालाई न्याय दिन सक्छु । राजु हिरानी र विन्दु विनोद चोपडासँग फेरी जोडिन पाउँदा म विजयी भएको अनुभव लिईरहेकी छु ।’ मनिषाले भनेकी छन् ।
फिल्ममा मनिषाले केमियो मात्र गरेकी छन् । उनले आफूले आफ्नोतर्फबाट राम्रो काम गरेको बताएकी छन् । ‘मैले फिल्ममा ऐतिहासिक पात्रको चरित्र निर्वाह गरेकी छु । मले मेरी आमा र नरगिसलाई नजिकबाट चिन्नेबाट पनि अभिनयको टिप्स लिएकी छु ।’ उनले भनेकी छन् ।