तपाई सबैलाई थाहा छ नेपाली चलचित्र प्रत्येक हप्ताको शुक्रबार रिलिज हुन्छन् । यो नियम चलचित्र विकास बोर्ड र चलचित्र निर्माता संघले संयूक्त रुपमा बनाएको हो । यो नियम सबै चलचित्रकर्मीले मान्नु पर्छ । तर पछिल्लो समय यो नियम केही निर्माताले नमानेको देख्न सकिन्छ र यो विषयमा चलचित्र विकास बोर्ड र निर्माता संघ नै गम्भिर देखिएको छैन । यसरी सरोकारवाला निकाय नै मौन बस्दा अहिले केही निर्माताहरु शुक्रबार नभएर सार्वजनिक विदा खोज्दै चलचित्र रिलिज गर्न लागेका छन् । विकास बोर्ड र निर्माता संघले बनाएको नियम मिच्दै पछिल्लो समय सार्वजनिक विदालाई लक्षित गर्दै नेपाली चलचित्रहरु प्रदर्शनमा आउन लागेको अबस्थामा आज बिहिबारबाट ‘चपली हाईट २’ र ‘वीर विक्रम’ पनि देशव्यापी प्रदर्शनमा उत्रिएका छन् ।
एकपछि अर्को गर्दै नेपाली चलचित्रहरु शुक्रबार भन्दा पनि सार्वजनिक विदामा प्रदर्शनमा आउन थालेपछि भदौ १० गते प्रदर्शन हुने भनिएको चलचित्र ‘शकुन्तला’ पनि भदौ ९ गते बिहिबार श्रीकृष्ण जन्मअष्टमीलाई लक्षित गर्दै प्रदर्शनमा आउने भएको छ । यस विषयमा बोल्दै चलचित्रका निर्देशक दिनेश श्रेष्ठले भने -‘अरु चलचित्रहरु सार्वजनिक विदा पारेर बिहिबार रिलिज गर्न सक्ने हामीले चाँही किन गर्न नमिल्ने । त्यसैले चलचित्र ‘शकुन्तला’ भदौ ९ गतेबाट प्रदर्शनमा आउँदैछ ।’ राजेश हमाललाई पहिलो पटक महिलाको भेषमा प्रस्तुत गरिएको यो चलचित्रमा अनु शाह, किशोर खतिवडा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।