काठमाडौं । भोजपुरी फिल्मका स्टार दिनेशलाल यादव यतिबेला आफ्नो फिल्म ‘निरहुवा चलल लण्डन’को सुटिङमा नेपालका विभिन्न स्थानमा व्यस्त छन् । नेपाली द्वन्द्व निर्देशक चन्द्र पन्तले डेब्यु निर्देशन गरेको दिनेश अभिनित फिल्मको नेपालको विभिन्न स्थानमा हालै मात्र एकसाता लामो समय लगाएर गीतको छायांकन गरियो ।
३ करोड भारतीय रुपैयामा निर्माण भइरहेको फिल्मको एक गीतका लागि जोमसोम, कागबेनी र पोखरा एयरपोर्टमा छायांकन गरियो । एउटा गितको मात्र छायांकनको लागि २० लाख खर्च भएको निर्देशक पन्तले जानकारी दिए । ‘अहिले बनिरहेका भोजपुरी गीतहरु २ लाख निर्माण हुने गरेका छन्,’ चन्द्रले भने, ‘यो फिल्मले भोजपुरी फिल्मको इतिहासलाई नै परिवर्तन ल्याउनेछ ।’
४० प्रतिशत छायांकन नेपाल र ६० प्रतिशत छायांकन लण्डनमा गरिने यो फिल्ममा भोजपुरी हिट नायिका आम्रपालि दुवेले दिनेशको अपोजिटमा अभिनय गरेकी छन् । नायक दिनेशले अमिताभ बच्चनदेखि सलमान खानसम्म सँगै काम गरेका छन् ।