भदौ २ लाई प्रदर्शन मिति तय गरेको फिल्म ‘ग्याङ्गस्टर ब्लूज’ टिम यतिबेला प्रचार प्रचारलाई अघि बढाउने तयारीमा छ । केहि हप्ता पहिले रिलिज फिल्मको ट्रेलरले हाईप बढाउँदै गर्दा अनि दर्शकमा फिल्मप्रतिको चासो बढ्दै गर्दा फिल्ममा समावेश पहिलो गीत रिलिज गरिएको छ ।
सार्वजनिक ‘अजम्बरी लाउला पिरती’ बोलको गीत सुमधुर लाग्छ । पछिल्लो समय एकपछि अर्को गर्दै हिट गीत पस्केका संगीतकार कालिप्रसाद बाँस्कोटाले गीतमा संगीत भरेका छन् । गीतमा समावेश शब्दहरु छिट्टै मनमा बस्ने खालका छन् । यो गीतले पनि दर्शकको मन जित्नेमा निर्माण टिम आशावादी छ ।
कालिप्रसादसँगै मेलिना राईले स्वर भरेको गीतमा लिड अभिनेता आशिरमान देशराज र अभिनेत्री आना शर्मालाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ । फिल्ममा रोजिशा शाहि, संयम पुरी, प्रमोद अग्रहरी लगायत लिड अभिनयमा छन्, हेमराज बिसीले निर्देशन गरेको फिल्मका निर्माता सरोज न्यौपाने हुन् ।