शुक्रबारबाट प्रर्दशनमा आएका दुई फिल्म ‘म यस्तो गीत गाउँछु’ र ‘सायद-२’ ले हाल राम्रो ब्यापार गरिरहेका छन्। ‘म यस्तो गीत गाउँछु’ले देशभरमा ५५ वटा हल पाएको थियो भने ‘सायद-२’ ले ६० वटा हलबाट प्रर्दशन आरम्भ गरेको थियो।
ब्यावसायिक हिसाबले ‘सायद-२’ भन्दा ‘म यस्तो गीत गाउँछु’ केही माथी छ। पुजा शर्मा र पल शाह अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु’ले शुक्रबार देखि नै सुखद ओपनिङ गरेको थियो। शनिबार पनि फिल्मले आफ्नो क्रेजलाई बचाइराख्यो। राजधानिका प्राय: हलहरु हाउसफुल थिए।
काठमाडौंको गोपीकृष्ण हलमा रहेका ७ पर्दा मध्ये ५ पर्दा ‘म यस्तो गीत गाउँछु’ हेर्न आउने दर्शकले भरिएका थिए। अष्टनारायण हलमा पनि दर्शकको चाप उस्तै रह्यो। बिहानी शोदेखि नै अष्टनारायणका ४ मध्ये ३ पर्दा ‘म यस्तो गीत गाउँछु’ हेर्न आएका दर्शकले भरिए। फिल्मको दुई दिने व्यपार एकदमै आक्रमक भएको वितरक गोपालकाजी कायस्थले बताए। उनले भने ‘ धेरै समयपछि नेपाली चलचित्र हेर्न दर्शक यसरी हलमा उर्लिएका हुन्।’
‘म यस्तो गीत गाउँछु’ संगीत पक्ष नै फिल्मको मुख्य आकर्षण थियो। फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन्। फिल्म हेरेपछि दर्शकले यसको संगीत, कलाकारको अभिनय, पटकथा, संवाद र कमेडी पाटोलाई मन पराएका छन्। हाँस्यकलाकार राजाराम पौडेलको अभिनयलाई सबैभन्दा रुचाइएको छ।
त्यस्तै ५ वर्ष पहिले प्रदर्शनमा आएको सफल फिल्म ‘सायद’को सिक्वेल फिल्म ‘सायद-२’लाई पनि दर्शकको राम्रो साथ मिलेको छ। ‘सायद’को सिक्वेल फिल्म भएकाले पनि फिल्म हेर्न दर्शक हलसम्म पुगेका हुन्। फिल्मको ब्यापारबारे निर्माता सुनिल रावल भन्छन् ‘मल्टिप्लेक्स हलहरु देखि सिंगल थिएटर सबैतिर फिल्मले राम्रै ब्यापार गरिरहेको छ। राजधानी बाहिर पनि फिल्मको ब्यापार राम्रै छ।’ फिल्मले चित्त बुझ्दो कमाइ गर्न नसके पनि आफ्नो ब्रान्ड बचाइराखेको रावल बताउछन्। ‘‘सायद’को ब्रान्ड ‘सायद २’ ले बचाएको छ। त्यसैमा खुसी छु’, उनि भन्छन् ‘फिल्मले दर्शकको मन जितेको छ।’
फिल्म ‘सायद-२’मा सुशील श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, सुनिल रावलको अभिनय रहेको छ। फिल्मलाई पुष्पराज न्यौपानेले निर्देशन गरेका हुन्।