मुम्बई(एजेन्सी) । केही दिन अघि मात्र बलिउड अभिनेता सलमान खानका पिता सलिमले ‘ट्यूबलाइट’को वितरकले फिल्मबाट पाएको घाटाको केही रकम भरपाई गर्ने घोषणा गरेका थिए । फिल्मका निर्माता र वितरकबीचको वार्ताले यो निर्णय भए पनि अब वितरकले तुरुन्तै त्यो पैसा फिर्ता नपाउने भएका छन् ।
सलिमले वितरकलाई जुलाई अन्त्यसम्म पर्खन आग्रह गरेका छन् । उनका अनुसार हाल फिल्म हलमा चलिरहेको र त्यसको पैसा आउने क्रम जारी रहेकाले तुरुन्तै पैसा फिर्ता गर्न नसक्ने उनको तर्क छ । उनले सबै ठाउँबाट फिल्म उत्रिएपछि फिल्मको नोक्सानको हिसाब गरेर पैसा दिने सलिमले बताए ।
समाचार अनुसार वितरकल झण्डै ७५ करोडको नोक्सान सलमानको फिल्मबाट भोगेका छन् । जबकी सलमानले ५० देखि ५५ करोड रुपैंयाँ भरपाई गरिदिने बचनदिएका छन् । यो फिल्मको बजेट झण्डै सय करोडको छ । फिल्म रिलिज अघि नै सेटलाइट र म्युजिकल राइट महंगो मूल्यमा बेचेर फिल्मले नाफा कमाइसकेको छ । निर्माताले आफ्नो नाममा रिलिज अघि नै १ सय ५० करोड जम्मा गरिसकेका छन् । फिल्मले भारतमा हालसम्म १ सय २१ करोडको कलेक्सन गरेको छ । यो फिल्म हिट हुन २ सय करोडको आँकडामा पुग्नुपर्ने भए पनि फिल्मले मुस्किलले १ सय करोडमा पाइला टेकेको थियो ।