रेखा थापाको निर्माण तथा अभिनय रहेको फिल्म रुद्रप्रिया को पहिलो मुहार सार्वजनिक गरिएको छ । सार्वजनिक तीन पोस्टर मध्ये एउटामा रेखाको एकल तस्विर छ भने अर्को दुई वटा पोस्टरमा रेखा र लिड अभिनेता आर्यन सिग्देल प्रस्तुत छन् ।
कात्तिक २ गते, लक्ष्मी पुजादेखि प्रदर्शनमा आउने फिल्म रुद्रप्रिया का सार्वजनिक तीन पोस्टरमा विभिन्न अर्थहरु लुकेका छन् । रेखाको आधा छोपिएको मुहारले उनी पिडामा छिन् भन्ने बुझ्न सकिन्छ । तर उनको आँखामा भने आक्रोश छ । आर्यन दुवै तस्बिरहरुमा निर्दोष देखिन्छन् । यसबाट के बुझ्न सकिन्छ भने रुद्रप्रिया संवेदनशील विषयमा बनेको फिल्म हो ।
नायिका तथा निर्मात्री थापाले फिल्मको कथा अनुरुप पोस्टर तयार पारिएको बताईन् । कथा अनुसारकै पोस्टर बनाइएको हो, रेखाले भनिन्, मैंले खेल्दै र बनाउँदै आएका फिल्महरु भन्दा रुद्रप्रिया भिन्न छ । रेखा र आर्यनले ७ वर्षपछि एकसाथ स्क्रिन सेयर गरेका हुन् । आर्यनलाई पनि दर्शकले फरक भूमिकामा पाउनु हुनेछ, रेखाले भनिन् ।
सुदिप बबी भूपाल सिंहको निर्देशन रहेको फिल्म रुद्रप्रिया मा रेखा र आर्यनसँगै विश्व बस्नेत र राजन इशानको मुख्य भूमिका रहेको छ । संजय लामाको छायाँकन रहेको फिल्ममा सुरेश अधिकारी, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत छ । यो फिल्म तिहारमा रिलिज हुनेछ ।