भुटानबाट नेपाल आएर बसेका शरणार्थीहरुको कथामा आधारित भएर निर्माण गरिएको फिल्म ‘हामी शरणार्थी’ भदौ ८ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ। सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी फिल्म यस मितिमा आउने जानकारी गराइएको हो। शिल्पा पोख्रेलको मुख्य भूमिका रहेको फिल्ममा जिवन भट्टराई, प्रतिमा रसाईली, नयन घिमिरे लगायतको अभिनय छ।
कार्यक्रममा फिल्मका निर्देशक विजय केरुङ्गले फिल्म पूर्वी भेगमा बस्ने शरणार्थीको सत्य घटनामा आधारित भएको र त्यसको लागि निकै खोज अनुसन्धान गरेको बताए। कार्यक्रममा फिल्मकी नायिका शिल्पा पोखरेल भने उपस्थित थिइनन्। उनि अहिले फिल्म ‘विरांगना’को छायांकनमा व्यस्त छिन्।
फिल्ममा उत्तमजंग लिम्बुको संगीत, कमल राईको नृत्य निर्देशन, हिमाल केसीको द्वन्द, सौरभ लामाको छायांकन रहेको छ। कृष्णप्रसाद पोखरेल कार्यकारी निर्माता रहेको फिल्ममा अर्जुनकुमार पोखरेल, प्रकाश भण्डारी र प्रकाश शिवाकोटीको संयुक्त लगानी छ।
भदौ ८ लाई प्रदर्शन मिति तय गरिरहदा यो फिल्मले सोलो रिलिजको मौका पाएको भने हैन। यसै मितिमा ‘हामी शरणार्थी’संगै शरणार्थीकै कथामा निर्माण भएको फिल्म ‘देश खोज्दै जाँदा’ र अर्को फिल्म ‘धूम २’ पनि प्रदर्शनमा आउँदै छन्।