मुम्बई(एजेन्सी) । विश्वव्यापी हिट फिल्म ‘बाहुबली’ र ‘बाहुबली २’को टिकट महंगो मूल्यमा बेचिएको समाचार सार्वजनिक भएकै हो । तर बलिउड कलाकार अभिनित फिल्मको टिकट भने रिलिज अघि महंगो रकममा बेचिएको उदाहरण कमै मात्र छ । बलिउड बादशाह शाहरुख खान यस्तो भाग्यमानी अभिनेता बनेका छन्, जसको रिलिज हुन लागेको फिल्म ‘जब ह्यारी मेट सेजल’को टिकट २४ सय रुपैंयाँमा विक्री भएको छ । यो टिकट विक्रीलाई कतिपयले शाहरुख प्रतिको प्रेम र उनले ५० वर्षको उमेर बढी हुँदा पनि रोमान्सको फ्लेबरलाई नछोडेको कारणलाई लिइएको छ ।
इम्तियाज अलीको निर्देशनमा बनेको फिल्म आगामी चार अगष्टमा रिलिज हुँदैछ । फिल्म रिलिज हुनु दुई दिन अघिदेखि नै एडभान्स बुकिङ शुरु भइसकेको छ । फिल्मको टिकट दिल्लीको एम्बियान्स डायरेक्टर्स कट मल्टीप्लेसमा एक टिकटको मूल्य २४ सय राखिएको छ । दिल्लीमा फिल्मको टिकटको उच्च मूल्य १ हजार रुपैंयाँसम्म छ । मुम्बईको मल्टिप्लेक्समा १२ सयदेखि १५ सयसम्म टिकट मूल्य छन् ।
शाहरुखको फिल्म भन्दा अघि ‘बाहुबली–द कन्क्लूजन’को एक टिकट २४ सयमा विक्री भएको थियो । रणबीर कपूर, अनुष्का शर्मा र ऐश्वर्या बच्चन स्टारर ‘ऐ दिल मुश्किल’ यो मामलामा दोस्रो नम्बरमा परेको थियो जसको टिकट मूल्य २२ सय रुपैंयाँ थियो । सलमान खानको ‘सुल्तान’को एक टिकटको मूल्य १८ सय रुपैंयाँ थियो ।