मुम्बई(एजेन्सी) । मुम्बई महानगर(बीएमसी)ले अभिनेता आमिर खानले आफु बसिरहेको फ्ल्याटको विस्तारको कामलाई तत्कालका लागि रोक लगाएको छ । बीएमसीले आमिरको छिमेकीले महानगरपालिकामा दिएको उजुरीका आधारमा महानगरले तत्काल काम रोक्न आदेश दिएको थियो ।
आमिर पालीहिलस्थित मरीना अपार्टमेन्टको चार अलग–अलग फ्ल्याटलाई एउटा सिडीले जोड्न चाहन्थे । तर उनको एक छिमेकीले यो कामको विरोध गर्दै महानगरपालिकामा निवेदन दिएका थिए ।
बीएमसीका कार्यकारी इञ्जिनियर अशोक वाकडेले बीएमसीबाट अर्को आदेश नआउञ्जेलसम्म आमिरले फ्ल्याटको काम शुरु गर्न नपाउने बताए । मरीना अपार्टमेन्टको वर्गों हाउसिङ सोसाइटीले बीएमसीको इजाजत बिना नै आमिरलाई फ्ल्याटको काम गर्न अनुमति दिएको थियो ।
यो भवनको ग्राउण्ड फ्लोरमा आमिरको एक फ्ल्याट, पहिलो फ्लोरमा दुई फ्ल्याट र चौथो फ्लोरमा एक फ्ल्याट छ । यि फ्ल्याटका कोठामा एउटै सिडीमा पुग्न सकियोस् भन्ने आमिरको चाहना छ ।