काठमाडौं । नेपाली फिल्म प्रति विद्यार्थीको क्रेज बढ्दो छ । खास गरी युवा लक्षित फिल्म बन्ने क्रमले पनि उनीहरुलाई फिल्म प्रतिको आकर्षण बढेको हो । अझ फिल्म युनिट नै तीनै विद्यार्थीको अगाडि पुग्दा त्यहाँको माहौल कस्तो होला । आउँदो भदौ २ बाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ग्याङस्टर ब्लूज’ टिम पोखरामा पुग्दा त्यहाँको माहौल त्यस्तै देखियो । त्यहाँका दुई कलेजमा आयोजना गरिएको सांगीतिक कार्यक्रमसहितको कन्सर्टमा रमाउन विद्यार्थीहरुले कलेजको पढाई नै छाडे ।
फिल्म युनिटले शनिबार र आईतबार पोखराका विभिन्न ठाउँमा ‘स्ट्रिट कन्सर्ट’ सहित प्रचारात्मक कार्यक्रम गरेको थियो । पोखराको ट्रेड मलमा शनिबार साँझ आयोजित कार्यक्रममा स्थानिय सयौं दर्शक झुम्मिए । चर्चित संगीतकार तथा गायक कालिप्रसाद बाँस्कोटा अनि गायिका वाणिमा प्रधानको गायनमा कम्मर मर्काए । यस्तै लिड अभिनेता आशिरमान देशराज जोशी, संयम पुरी, अभिनेत्री द्वय आना शर्मा र रोजिशा शाहीसँग सेल्फीमा रमाए ।
फिल्म मुख्यतः युवा पुस्तालक्षित हुँदा निर्माण टिमले सोही प्रकारको ‘पब्लिसिटी स्टाटेजी’ बनाएर आईतबार पोखरा आसपासका कलेजहरुमा पुग्यो । जहाँ अचम्मको माहोल बन्यो विद्यार्थीहरु पढाई छाडेरै आशिरमान देशराज, आना शर्मा र संयम पुरीसँग अंकमाल गर्न, सेल्फी लिन अनि तस्विर खिचाउनमा निस्किए । आईतबार बिहान जनमैत्री क्याम्पस प्रांगणमा सम्पन्न कन्सर्टमा ५ सय बढि विधार्थीको सहभागिता देखियो ।
जेएमसीसँगै ला ग्राण्डी ईन्टरनेशनल कलेजमा भएको छुट्टाछुट्टै कार्यक्रमबाट आशिरमानलाई बाहिर निकाल्न नै आयोजकलाई मुश्किल परेको थियो । सेल्फीमा रहाउनेदेखि गालामा किस गर्ने अनि अटोग्राफ लिने भिन्न भिन्न प्रकारका आशिर क्रेजी फ्यानहरु पोखरामा भेटिए । पहिलो फिल्म रिलिजको छेकोमा नै आशिरमा देखिएको क्रेजले स्थानियबासीले उनलाई भोलीको स्टारको उपमा दिएका छन् । यस्तै लामो समयपछि दर्शकमाझ नजिकबाट पुगेका ‘सायद’ अभिनेता संयम पुरीको क्रेज पनि पोखरेलीमाझ उस्तै देखियो भने ‘जेरी’ पछि पर्दामा ‘ग्याङस्टर ब्लूज’बाट पर्दामा पुनरागमन गर्दै गरेकी आना पनि सोहि प्रकारले घेरिईन् ।
कार्यक्रममा फिल्म युनिटले क्विज कन्टेस्ट पनि सम्पन्न गरेको छ । फिल्मसँग सम्बन्धित रहेर गरिएका प्रश्नको सहि उत्तर दिने मध्येबाट पोखरामा भदौ १ गते हुने प्रिमियरको लागी सात जना दर्शकले कलाकारसँगै रहेर फिल्म हेर्ने अबसर आफ्नो पक्षमा पारेका छन् ।
त्यसपश्चात आयोजित पत्रकार भेटघाटमा फिल्म निर्देशक हेमराज बिसीले पोखरेली दर्शकले दिएको माया र सद्भावलाई भदौ २ मा रिलिजपछि फिल्मले न्याय गर्ने बोले । पछिल्लो पुस्ताका दर्शकको मनोभावनालाई सम्बोधन गर्ने किसिमले फिल्म बनाएको भन्दै बिसीले दर्शकलाई आफ्ना पछिल्ला सबै फिल्मले भन्दा फरक स्वाद ‘ग्याङ्गस्टर ब्लूज’ले दिने दाबी पनि गरे ।
निर्माता सरोज न्यौपानेले पोखरेली दर्शकले फिल्मप्रति देखाएको उत्सुकता अनि चासो तथा लिड अभिनेता अभिनेत्री प्रतिको क्रेजले फिल्म सफलताको संकेत दिएको बोले । आईतबारको पोखरा कार्यक्रम सकाएर फिल्म टिम बुटवल पुगेको छ । सोमबार तथा मंगलबार बुटवलमा कार्यक्रमपछि बुधबार ‘ग्याङ्गस्टर’ टिम चितवनका कार्यक्रममा सहभागी हुनेछ । त्यसपश्चात शुक्रबार र शनिबार हेटौंडामा हुने प्रचारात्मक कार्यक्रम तथा कन्सर्टमा कलाकार सहितको टिम उपस्थित हुनेछ ।