हरेक वर्ष गाइजात्रा पर्वको अवसरमा आयोजना हुँदै आएको विशेष हाँस्यब्याङ्ग्य कार्यक्रम यस बर्ष पनि आयोजना हुने भएको छ। ‘तिते–जिरे–ब्रेकफेल गाइजात्रा’को नामबाट यही आउँदो साउन २४ गतेबाट कार्यक्रम सुरु हुन लागेको हो। राजधानीको प्रज्ञा भवन कमलादीमा आयोजना हुने यस कार्यक्रमको लागि आवश्यक तयारी भइरहेको आयोजक ‘कारोबार मिडिया प्रा.लि’ले जनकारी दिएको छ।
हाँस्य कलाकारहरुको प्रत्यक्ष प्रस्तुति मार्फत मनोरञ्जन लिन सकिने यस कार्यक्रममा कलाकारहरुले विद्यमान राजनीतिक तथा सामाजिक विकृतिहरुलाई ब्याङ्ग्यात्मक आलोचना गरी सुधार गर्न दबाब दिने गर्दछन्। कार्यक्रम साउन २४ गतेबाट भदौ ३ गते चल्नेछ।
लोकप्रिय हास्यब्याङ्ग्य टेलिभिजन कार्यक्रम ‘तितो सत्य’, ‘जिरे खुर्सानी’ र ‘ब्रेकफेल’लाई संयोजन गरी ‘तिते–जिरे–ब्रेकफेल गाइजात्रा’ नामाकरण गरिएको हो। कार्यक्रममा यी टेलिभिजन कार्यक्रममा आबद्ध कलाकारहरुले प्रस्तुती दिने छन्। यो दर्शकहरुलाई मनोरञ्जनसँगै विकृतिहरु विरुद्ध तिखो प्रहार गर्ने, व्यस्तता र तनावको दैनिकीबाट मुक्त हुने र हाँसेर स्वस्थ हुने मौका भएको आयोजक संस्थाले जनाएको छ।
यस बर्षको गाइजात्रा विशेषको मुख्य कलाकारहरुमा दीपकराज गिरी, शिवहरि पौडेल, किरण के.सी., मनोज गजुरेल, शैलेन्द्र सिंखडा, राजाराम पौडेल, दमन रुपाखेती, पूर्ण थापा, रवि डंगोल, मनोज आचार्य, टीका भण्डारी, शिवहरि बैरागी, सविता गुरुङ, निरज नेपाल, कविता शर्मा, सरिस्मा मगर लगायत रहनेछन।