फिल्म निर्माता हरि महतले ‘आइल्याण्ड स्पा एन्ड फिटनेस सेन्टर’ सञ्चालनमा ल्याएका छन्। काठमाडौं बनस्थलीमा अवस्थित उक्त ‘स्पा एन्ड फिटनेस सेन्टर’को बुधबार एक कार्यक्रमका बीच नायक आर्यन सिग्देल र नायिका पूजा शर्माले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरे।
यस अघि ‘आइ एम सरी’ र ‘पुन्टे परेड’ निर्माण गरेका महतले २५ लाखको लगानीमा बनस्थली एरियामा बसोबास गर्ने मानिसलाई लक्षित गर्दै ‘स्पा एन्ड फिटनेस सेन्टर’ सञ्चालनमा ल्याएका हुन्। उद्घाटनमा सरिक भएका आर्यनले पछिल्लो समय काठमाडौंको बसाई अनुसार हरेक मानिस स्वस्थ रहन जरुरी रहेको भन्दै त्यसका लागि ‘स्पा र फिटनेस’ वैकल्पिक माध्यम भएको बताए। त्यस्तै नायिका पूजाले आफू सधैँ फिट हुनका लागि नियमित व्यायम गर्ने देखि खानपानमा ध्यान दिने गरेको समेत बताइन्।
आइल्याण्ड स्पा एन्ड फिटनेसका चेयरम्यान महतले ओपनिङ भएको बुधबारको दिनले एक हप्ता सम्म सेवा लिन आउनेलाई विशेष छुटको व्यवस्था रहेको बताए। उनले यस सेन्टरबाट आयुर्वेदिक बडी थेरापी, स्वेडिस थेरापी, हेड एन्ड सोल्डर मसाज, योगा फिटनेस, वाक्सीङ, फेसियल, सौना एन्ड स्टिम लगायतको सेवा लिन सकिने जानकारी दिए।
नयाँ व्यवसाय सुरु गरेका महतले नेपालमा बक्स अफिस लागू भएको खण्डमा फिल्म मेकिङलाई पनि निरन्तरता दिने वचन गरेका छन्। नयाँ व्यवसायमा सफलता मिलोस् भनि उनलाई निर्देशक सुदर्शन थापा, हास्यकलाकार ज्योति काफ्ले ‘नक्कली बाबुराम’, जय किशन बस्नेत, संगीतकार तारा प्रकाश लिम्बु लगायतले शुभकामना दिएका थिए।