एउटा निर्माताले आफ्नो लगानीमा राम्रो चलचित्र बनाउन खोज्छ र केही हदसम्म सफल पनि हुन्छ । तर आफुलाई राम्रो लागेको फिल्म मासमा जाँदा चाँही किन चल्दैन् ? हो अहिले यो प्रश्न प्रत्येक निर्माताहरुको मुखमा झुण्डिरहेको छ । एउटा चलचित्र निर्माण गर्न केही लागेन भने पनि ६० लाखको आसपासमा खर्च हुन्छ तर हलमा एक दिन पनि चलचित्र टिक्न नसकेका उदारहणहरु हामीले तपाईहरुलाई दिइरहनु पर्दैन । ६० लाखभन्दा कम लगानीमा तयार भएका केही चलचित्रहरुले करोडभन्दा पनि माथिको व्यापार गरेको पनि बेला बखतमा सुन्न पाइन्छ । तर केही बर्ष यताको चलचित्र बजार हेर्ने हो भने विदेशी चलचित्रले बढी जसो कब्जा गरेका छन् ।
सानो भनिएको नेपाली बजारमा राम्रो भनिएका हलीउड र बलीउड चलचित्र प्रदर्शन भए भने करोडौं कमाउँछन् तर राम्रा भनिएका नेपाली चलचित्र प्रदर्शनमा आए भने निर्माताको खल्तीमा चलचित्र निर्माण गर्दा लागेको खर्च पनि उठाउन मुश्किल हुन्छ । त्यसैले होला केही नेपाली निर्माताहरु आफुले निर्माण गरेको चलचित्र फेसबुकमा हाउफुल बनाउने गर्छन । सामाजिक सञ्जालको लोकप्रियतासँगै नेपाली निर्माताहरु पछिल्लो समय फेसबुकबाट चलचित्रको प्रमोशन मात्र होइन हलमा पुगेर अन्य चलचित्रका दर्शकलाई आफ्नो चलचित्रका दर्शक भन्दै फेसबुकमा स्टाटस र फोटोहरु पोष्ट गर्न पनि पछि पर्दैनन् । हलमा चलचित्र हेर्ने दर्शक नभएपछि बलीउड र हलीउड चलचित्र हेर्न आएका दर्शकहरुको फोटो आफ्नो चलचित्रका दर्शकहरु भन्दै निर्माताहरु फेसबुकमा दर्जनौ फोटोहरु अपलोड गर्छन । फेसबुकमा यसो गर्दा केही हदसम्म भएपनि भोली पल्ट दर्शकहरु हलसम्म चलचित्र हेर्न जान्छन् भन्ने मानसिकताले पछिल्लो समय केही निर्माताहरुको यो हर्कत सबैले देख्दै आएका छौ ।
राम्रो चलचित्र बनाए चल्छ र चलेका पनि छन् तर फेसबुकमा अन्य चलचित्र हेर्न आएका दर्शकहरुलाई आफ्नो दर्शक हुन भन्दै फेसबुकमा फोटो अपलोड गर्ने निर्माताको बानीले भने दर्शकहरु पनि वाक्कदिक्क भइसकेका छन् । राम्रो नेपाली चलचित्र बने दर्शकहरु हेर्न नगएका होइनन् तर केही नराम्रा चलचित्रका कारण पछिल्लो समय राम्रा चलचित्रहरु पनि चल्न छोडेका छन् । फेसबुकमा फिल्म हाउसफुल भयो भन्दै प्रचार गर्ने निर्माताहरुले यो बानी हटाएर राम्रो चलचित्र निर्माण गर्न तर्फ लागे भोलीका दिनका दर्शकहरुको राम्रो साथ पाउनेमा कुनै दुई मत छैन ।