गत शुक्रबार देखि प्रदर्शनमा आएको फिल्म ‘भुइँमान्छे’लाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीले हेरेका छन्। आफ्नो परिवार सहित कुलपति उप्रेती शनिवार साझ सिभिल मल स्थित क्युएफएक्समा ५:३० बजेको शो हेर्न पुगेका थिए। उनीसंगै पुराना कलाकार सन्तोष पन्तले पनि फिल्म हेरे। पन्त २ महिना पछी फिल्म हेर्न हलमा पुगेका हुन् भने कुलपति उप्रेतीले १६ वर्षपछी फिल्म हेरेका रहेछन्। उनले पछिल्लो फिल्म पन्छी(सन् २००१) हेरे पश्चात हलमा फिल्म हेर्न नपुगेको बताए।
फिल्म हेरिसके पश्चात कुलपति उप्रेतीले भने ‘मलाई ट्रेलरले नै आकर्षित गरेर फिल्म हेर्न आएको हुँ। जुन समय छुट्याएर झन्डै १५ वर्ष पछी म फिल्म हेर्न आएको थिए , त्यसको सदुपयोग नै भयो।’ उनले नेपाली फिल्म बन्ने शैली फेरिएको बताउदै नयाँ विषयवस्तुमा फिल्म हेर्न पाएकोमा खुसि भएको सुनाए।
त्यस्तै कलाकार सन्तोष पन्तले फिल्म राम्रो लागेको बताए। ‘प्राय: निर्माता निर्देशकले आफ्नो फिल्मलाई फरक विषयवस्तु भन्छन् तर यो साच्चिकै फरक छ’, उनले भने ‘नेपाली फिल्ममा यसैगरी आफ्नै मौलिक नयाँ विषयलाई दर्शक समक्ष लग्नु पर्छ। यो फिल्म हेर्दा केहि फरक अनुभव हुन्छ, अनि कलाकारले निकै राम्रो काम गर्नु भएको छ।’ उनले दर्शकलाई पनि फिल्म हेर्न आग्रह गरेका छन्।नवराज बुढाथोकीको लेखन तथा निर्देशन रहेको फिल्म ’भुइँमान्छे’ पोष्टमार्टम गर्ने व्यक्तिको मनोविज्ञानमा आधारित छ। रोहिणी भट्टराईको निर्माण रहेको यस फिल्ममा रमेश बुढाथोकी, सिपोरा गुरुङ, सहिन प्रजापती लगायतको अभिनय रहेको छ। फिल्मले दर्शकबाट पनि राम्रो प्रतिक्रिया पाइरहेको छ। विशेष गरी फिल्मको विषयवस्तुलाई दर्शकले रुचाएका छन्।