. दिप्सन लुइटेल
केहि समय पहिला एउटा सफल फिल्म निर्माणका लागि हिरोको जति आवश्यकता हुन्थियो त्यतिनै भिलेनको पनि आवश्यकता हुन्थियो। जति भिलेन बलिया हुन्थे त्यति नै द्धन्द हेर्न रोचक हुन्थियो। कसैको लामो कपाल, कसैको चिन्टे तालु, मोटो ज्यान, ठुल-ठुला आँखा त्यहि नै भिलेनको परिचय हुन्थियो। रिसाहा पारामा बोल्नु पर्ने, फिल्मकी नायिकामाथि दुर्व्यबहार गर्नु पर्ने, गाउँ-टोल-छिमेकमा नराम्रो काम गर्नु पर्ने र हिरोको कुटाई खानु पर्ने त्यहि नै उसको भूमिका हुन्थियो।
‘भिलेन’ले फिल्ममा मात्र त्यो भूमिका निर्वाह गरेका हुन्थे तर दर्शकले उसलाई वास्तविक भिलेन बनाइदिन्थे। गाउँ टोल छिमेकमा हिड्न गाह्रो हुन्थियो। छोरी-चेलीहरु उसलाई देख्ने बित्तिकै भाग्ने गर्थे।
फिल्ममा हिरोले कुटाइ खादा आँखाबाट आशु झर्ने दर्शक भिलेनले खाएको कुटाईमा खुशी हुन्थिए। दर्शकले फिल्म त हेर्थे, तर फिल्म हेरिसके पश्चात फिल्मको हिरो र हिरोइन मात्र सम्झिन्थे। भिलेनलाई बिर्सिन्थे। कारण थियो फिल्म उसले निर्वाह गरेको नकारात्मक भूमिका। तर अहिले निर्माण हुने फिल्ममा त्यो अवस्था छैन। अहिले निर्माण हुने फिल्ममा पहिले देखेको जस्तो भिलेन देख्न पाइन्दैन। अहिलेको फिल्ममा त हिरो जत्तिकै ‘हेन्डसम’ हुने गर्छन भिलेन। उनीहरु पहिलेको फिल्मको जस्तो भिलेनको लामो कपाल र मोटो ज्यान हुनु पर्ने ठान्दैनन्। उनिहारु सामान्य भएर नै भिलेनको भूमिका निर्वाह गर्दछन। भिलेनले निर्वाह गर्ने भूमिका पनि फेरिएको छ।
चर्चा गरौ पहिलेका केहि चर्चित ‘भिलेन’को :
पहिलेका फिल्मको चर्चित भिलेनहरुमा राजेन्द्र खड्गी, मुकुन्द थापा, सुनिल थापा, दिनेश शर्मा, पवन मैनाली, टिका पहारी, शुशिल पोखरेल, हेमन्त बुढाथोकी लगायत पर्दछन। उनीहरुले कुनै समय फिल्म क्षेत्रमा भिलेनको रुपमा एकछत्र राज गरेका थिए।
राजेन्द्र खड्गी फिल्म क्षेत्रमा स्थापित नाम हो। सयौँ फिल्ममा द्धन्द निर्देशन समेत गरेका उनले फिल्म ‘अग्नी परीक्षा’, ‘शंकर’, ‘गोर्खाली’, ‘बारुद’, ‘देवर बाबु’, लगायतका थुप्रै फिल्ममा भिलेनको भूमिका निर्वाह गरेका छन्। उनको परिचय भनेको नै लामो कपाल अनि ठुलो ज्यान थियो। कुनै बेला मुक्का प्रहार गरेर राँगा ढालेको प्रसंगले पनि उनलाई चर्चामा ल्यायो। फिल्म नगरीमा ‘राते काईइला’को नामबाट परिचित छन् सुनिल थापा। फिल्म ‘चिनो’मा उनले निर्वाह गरेको राते काईलाको भूमिका सबै दर्शकले नोटिस गर्न सके। त्यहिबाट उनको नाममा अर्को नाम थपियो, ‘राते काईला’। उनले फिल्म ‘पापी मान्छे’, ‘कर्मयोग्दा’, ‘सपना’, ‘धर्ति’, ‘भाई’, ‘अपराध’ लगायतमा अभिनय गरेका छन्।
शुशिल पोखरेलको पनि रिसाह अनुहार सबैको लागि परिचय बनेको थियो। उनलाई पनि फिल्म क्षेत्रको सफल भिलेनको रुपमा लिइन्छ। उनले फिल्म ‘अन्त्य’, ‘बाघचाल’, ‘अंगरक्षक’ ‘आगो’ लगायतमा अभिनय गरेका छन्। त्यस्तै, पवन मैनाली, टिका पहारी र हेमन्त बुढाथोकी पनि फिल्म नगरीमा चलेको नाम हो। उनीहरुले पनि धेरै फिल्ममा खलपात्रको भूमिका निर्वाह गरेका छन्।
तर अहिले ति भिलेन नेपाली फिल्ममा देखिन छाडेका छन्। आखिर कहाँ छन् त ति भिलेन?