मुम्बई(एजेन्सी) । बलिउड अभिनेता अक्षय कुमार जुन किसिमले सफलताको सिढी चढिरहेका छन्, सय करोड, ५ सय करोड र १ हजार करोड जस्ता सीमाले उनलाई कहिँ पनि बाँध्न सक्दैन । कमाई त आफ्नो ठाउँमा छँदैछ, त्यो भन्दा पनि अगाडि बढेर अक्षयले आफ्नो फिल्मका दर्शकको विश्वास जितेका छन् ।
हालै मात्र रिलिज अक्षयको फिल्म ‘ट्वाइलेट एक प्रेम कथा’ले पनि सय करोड कमाई गरिसकेको छ । विस्तारै विस्तारै भए पनि यो फिल्मले दर्शकलाई हलमा तानिरहेको छ । अक्षय अभिनित फिल्मले सय करोड कमाएको यो ८ औं फिल्म हो । यो भन्दा अघि हाउसफुल २, हाउसफुल ३, रुस्तम, एयरलिफ्ट, राउडी राठौड़, जोली एलएलबी २ र होलिडेले सय करोडमा आफुलाई पु¥याइसकेका छन् ।
अर्का अभिनेता सलमानको यसअघि नै १० वटा फिल्म सय करोडमा पुगेको रेकर्ड छ । अक्षय अब त्यो रेकर्ड तोड्न लालयित बनिसकेका छन् । फ्यानको कुरा गर्दा सलमानको एक निश्चित किसिमको मात्र फ्यान भए पनि अक्षयले आफ्ना सबै वर्गका फ्यन बनाएका छन् ।
सलमान भन्दा अक्षय दुई फिल्मले मात्र १०० करोड क्लबको रेकर्ड बनाउन पछि परे पनि उनी चाँडै यो इतिहास रच्न पुग्दैछन् । सलमानको पछिल्लो फिल्म ट्युबलाइटले उनका फ्यानको शिर निहुराई रहँदा अक्षयको फिल्मले भने उनका फ्यानको शिर उचो पारिदिएको छ । हालै मात्र फोब्र्सले सार्वजनिक गरेको सर्वाधिक कमाई गर्ने सेलिब्रेटीको सूचीमा शाहरुख खान पछि अक्षय र सलमान नै छन् ।