मुम्बई(एजेन्सी) । प्राय फिल्ममा आफ्नो कमेडी भूमिकाले दर्शकमाझ रुचाइएका बलिउड अभिनेता नीरज वोरा पछिल्लो १० महिनादेखि कोमामा छन् । नीरजलाई सन्२०१६ को अक्टोबर १९ मा ब्रेक स्ट्रोक भएको थियो । यही कारण उनलाई दिल्लीको एम्समा भर्ना गरिएको थियो ।
अस्पतालमा भर्ना भएपछि उनलाई पहिला भेन्टिलेटरमा राखिएको थियो । स्वास्थ्यमा केही सुधार भएपछि उनका साथीले २०१७ मा उनलाई मुम्बई ल्याए । त्यसयता उनी साथीभाईकै निगरानीमा बस्दै आएका छन् । उनको साथी फिरोज नाडियाडवालाले उनको नियमित रेखदेख गरिरहेका छन् ।
साथीको अवस्था गम्भीर देखेपछि फिरोजले नै सबै जिम्मेवारी लिएर नीरजको उपचार गरिरहेका छन् । उनले जुहुस्थित आफ्नो घर बरकत विलाको एक कोठालाई नै आइसियूमा परिवर्तन गरेका छन् । फिरोजका अनुसार २०१७ देखि नीरजका लागि चौबिसै घण्टा एक नर्स, वार्ड ब्वाई र कुक राखिएको छ । योबाहेक फिजियोथेरेपिस्ट, न्यूरो सर्जन, एक्यूपक्चर थेरेपिस्ट र जनरल फिजिशियन हरेक हप्ता यहाँ आउने गर्दछन् ।
नीरजको परिवारमा उनीबाहेक अहिले कोही छैन । उनकी पत्नीको यसअघि नै निधन भईसकेको छ । उनको कुनै सन्तान पनि छैन । उनको परिवारमा उनको आमा मात्र थिइन् । आमाको पनि २०१४ मा निधन भईसकेको छ । हाल उनलाई राखिएको कोठामा उनको चर्चित फिल्म रंगीला, विरासत, हेराफेरी, गोलमाल, दौड़ र खिलाड़ी ४२० को पोष्टर टाँसिएको छ । कोठामा टेलिभिजन पनि राखिएको छ, जहाँ उनको मनपर्ने फिल्म देखाउने व्इवस्था छ ।
नीरजलाई ब्रेन स्ट्रोक हुँदा उनी फिल्म हेराफेरी ३ को काममा व्यस्त थिए । यो फिल्मलाई फिरोज निर्माण गर्न लागेका थिए । स्क्रिप्ट फाइनल भएर फिल्म २०१६ को डिसेम्बरबाट सुटिङ गर्ने योजना भइरहेको थियो ।