नायिका श्वेता खड्काको संयोजकत्वमा ‘श्वेताश्री फाउण्डेशन’ले निर्माण गर्दै गरेको एकिकृत नमुना माझी बस्ती विकास परियोजनालाई बंगलादेशको स्थापित ‘ढाका क्लब’ले बीस लाख रुपैयाँ सहयोग गरेको छ। मंगलबार बस्तीमै पुगेर क्लबका कार्यकारी अधिकृत जाहिरुल आलिमले श्वेताश्री फाउण्डेशनका सल्लाहकार प्रेम खत्रीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।
चेक बुझ्दै सल्लाहकार खत्रीले ढाका क्लबबाट प्राप्त उक्त रकमलाई सही ठाउँमा सदुपयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै क्लबलाई धन्यवाद समेत दिए। यता अधिकृत आलिमले गत ०७२ बैशाख १२ गते गएको भूकम्पले माझी बस्तीलाई पुर्याएको क्षति देखेर आर्थिक सहयोग गरेको खुलाए। भूकम्पबाट प्राभावित ५६ माझी घरहरुमध्ये दश वटा घरको जग बनिसकेको छ। ‘हामी चाँडै नै तपाईंहरु घरमा बसेको हेर्न चाहान्छौं’, चेक हस्तान्तरण कार्यक्रममा बोल्दै श्वेताश्री फाउण्डेशनका सचिव यज्ञराज कार्कीले भने, ‘हामी घर भन्दा पनि शहर बनाउँदैछौं। त्यसैले केही समय लागिरहेको हो। यो बस्ती हामीले होइन तपाईहरुले बनाउँदै हुनुहुन्छ।’
फाउण्डेशनकी अध्यक्ष नायिका श्वेता खड्का भने फिल्म ‘कान्छी’ सुटिगंका कारण मंगलबार बस्ती जाँन सकिनन्। स्व.श्रीकृष्ण श्रेष्ठ जन्मेको सिन्धुपाल्चोक जिल्लाको झ्याडी माझी टोल पुगेपछि श्वेताले उक्त भूकम्प प्रभावित बस्ती बनाउने वचन दिएकी थिइन्।