मुम्बई(एजेन्सी) । बलिउड अभिनेता आमिर खानले आफ्नो पहिचान केबल अभिनयमा मात्र सीमित राखेका छैनन् । उनी निर्माता, निर्देशक र टेलिभिजनको होस्ट पनि हुन् । सन् २००१ मा फिल्म ‘लगान’बाट निर्माताका रुपमा पाइला चालेका थिए । यो फिल्मले व्यावसायिक रुपमा उत्कृष्ट सफलता पायो । यही सफलताबाट हौसिएका आमिरले त्यसपछि ‘तारे जमिन पर’, ‘जाने तु या जाने ना’, ‘पिपली लाइभ’, ‘धोबीघाट’, ‘देल्ली बेल्ली’, ‘तलाश’, ‘दंगल’ र अब आउन लागेको ‘सेक्रेट सुपरस्टार’ बनाए ।
फिल्म ‘तारे जमिन पर’ आफै निर्देशन समेत गरेकाले उनी कुशल निर्देशकसमेत हुन् भन्ने कुरालाई प्रमाणित गरे । फिल्ममा फरक भूमिकामा देखिने आमिरले आफ्नो भूमिकालाई न्याय दिलाउँदै आम दर्शकमाझ गतिलो सन्देश पनि दिन्छन् ।
बहुमुखी प्रतिभाका धनीका रुपमा परिचित आमिरले अब आफ्नो काममा नयाँ पद थप्दैछन् । उनी आफ्नो व्यानर आमिर खान प्रोडक्सनमार्फत अब फिल्म वितरणमा पनि हात हाल्दैछन् । आमिरले हालै मात्र प्रखर जोशीलाई आफ्नो कम्पनीमा फिल्म वितरणको लागि आबद्ध गराएका छन् । जोशी विगत ३ वर्षदेखि डिस्नेको भारतीय थिएटरमा फिल्म वितरण गर्दै आएका छन् । आमिरसँग काम गर्नकै लागि जोशीले डिस्नेको जागिर माया मारेका छन् ।
उनको कम्पनीले आमिरकै फिल्म ‘सेक्रेट सुपरस्टार’को वितरणबाट वितरणको काम शुरु गर्नेछन् । यो फिल्म आगामी अक्टोबर १९ अर्थात दिपावलीको मौका पार्दै रिलिज हुँदैछ । आमिरको फिल्म अजय देवगनसहितको टिम अभिनित ‘गोलमाल अगेन’सँग भिड्दैछ ।
सेक्रेट सुपरस्टारमा जाहिरा वासिम प्रमुख भूमिकामा छिन् । यो फिल्मको निर्देशन अद्भैत चन्दनले गरेका हुन् । चन्दन लामो समयदेखि आमिरको मेनेजरका रुपमा कार्यरत छन् ।