मुम्बई(एजेन्सी) । बलिउडमा पछिल्लो समयमा एकसेएक फिल्म धमाधम बनिरहेका छन् . हरेक हप्ता कुनै न कुनै फिल्म रिलिज भइरहेका छन् । तर दर्शकका लागि केही छानिएका कलाकारको फिल्म मात्र प्रतिक्षाको विषय बन्दछ । जसमा शाहरुख खान, सलमान खान, आमीर खान र अक्षय कुमार जस्ता अभिनेता प्रमुख छन् । अन्य अभिनेताको भन्दा यी अभिनेताको फिल्म अलग्गै फ्लेबरको भएरै दर्शकमाझ पनि लोकप्रिय बन्छ र बक्स अफिसमा पनि पैसाको वर्षा नै गराउँछन् ।
भारतीय सञ्चारमाध्यमले शाहरुख र सलमानको केही फिल्मको कमाईको बारेमा चर्चा गरेका छन् । उनीहरुले सन् २०१२ देखि यता रिलिज भएर कमाई गरेका यी दुई स्टारको फिल्मको आँकडा निकालेका छन् । त्यो आँकडा हेर्दा २०१२ देखि हालसम्म दुवैको फिल्मले १ हजार करोड भन्दा बढी नै कमाई गरेका छन् । यहाँ यी दुई स्टारमध्ये कसको धेरै कमाई छ भन्ने विषयमा चर्चा गरिएको छ ।
सबैभन्दा पहिला चर्चा सलमान खानकै गरौं । २०१२ समा सलमानको दुई फिल्म आएको थियो । जसमा १५ अगष्टमा ‘एक था टाइगर’ र १२ डिसेम्बरमा ‘दबङ’ रिलिज भएको थियो । बक्स अफिस रिपोर्ट अनुसार यी दुई फिल्मले करिब ३ सय ३७ करोडको कमाई गरेको थियो । यो वर्ष पछि २०१४ मा पनि दुई फिल्म ‘किक’ र ‘जय हो’ रिलिज भएको थियो । यी दुवै फिल्मले ३ सय ७९ करोडको व्यापार गरेको थियो ।
सलमानका लागि २०१५ पनि भाग्यशाली साबित भयो । यो वर्ष उनको फिल्म ‘बजरंगी भाईजान’ले बक्स अफिसमा धमाल मात्रै मच्चाएन, सलमानलाई पनि नयाँ उचाई दियो । ‘बजरंगी भाईजान’ ले लगभग ३ सय २० करोडको कमाई गरेको थियो । त्यही साल रिलिज भएको ‘प्रेम रतन धन पायो’ले १ सय ९५ करोडको व्यापार ग¥यो ।
२०१५ पनि सलमानका लागि राम्रो साबित भयो । यो वर्ष आएको फिल्म ‘सुल्तान’ले बम्पर व्यापारसँगै सलमान बायोपिक फिल्ममा पनि काम गर्न सक्छन् भन्ने प्रमाणित गरिदियो । यो फिल्मले झण्डै ३ सय १ करोडको व्यापार गरेको थियो ।
तर सलमानको २०१७ मा आएको फिल्म ‘ट्यूबलाइट’ले उनका फ्यानलाई निराश बनाइदियो । फिल्म दर्शकले मननपराएकै कारण यसको व्यापार पनि ओरालो लाग्यो । तर पनि यो फिल्मले १ सय २१ करोडको व्यापार ग¥यो । २०१२ देखि हालसम्म सलमानको कुल ८ वटा फिल्म रिलिज भए । यो सबै फिल्मको व्यापार जोड्दा यसले भारतमा करिब १ हजार ६ सय ५३ करोडको कारोबार गरेको थियो ।
अर्का अभिनेता शाहरुखको पनि २०१२ देखि २०१७ सम्म आइपुग्दा ८ वटै फिल्म रिलिज भए । २०१२ मा उनको फिल्म ‘जब तक है जान’ले करिब १ सय २ करोड, २०१३ मा ‘चेन्नई एक्सप्रेस’ ले २ सय २७ करोड, २०१४ मा ‘हैप्पी न्यू ईयर’ले १ सय ७९ करोड, २०१५ मा ‘दिलवाले’ले १ सय ४० करोड, २०१६ मा ‘डियर जिन्दगी’ ले ६८ करोड र ‘फैन’ ले ८५ करोड, २०१७ मा ‘रईस’ र ‘जब हैरी मेट सेजल’ ६१ करोडको कमाई गरेको थियो । शाहरुखको सबै फिल्मको कारोबार जोड्दा उनको फिल्मले १ हजार १ करोड मात्र व्यापार गरेको छ ।