युवापुस्ता माझ निकै लोकप्रिय बनेको नाम हो पल शाह। कुनै समय म्युजिक भिडियोमा एकछत्र राज गरेका पल अहिले फिल्ममा बढी केन्द्रित हुन थालेका छन्। ‘नाई नभन्नु ल ४’ बाट फिल्म नगरीमा हात हालेका पलले पहिलो फिल्मबाट नै सफलता पाए। ‘नाई नभन्नु ल ४’ हिट भइदियो। फिल्म हिट भएसँगै उनको माग पनि बढ्न थाल्यो। चकलेटी अनुहार भएका पललाई लभर ब्वाईको भूमिका खुबै रुचाईयो।
पल अभिनित दोश्रो फिल्म ‘म यस्तो गीत गाउँछु’ यसै वर्षको असारमा प्रदर्शनमा आयो। उक्त फिल्मले पनि पललाई सफलता नै दिलायो। फिल्मले राम्रो व्यापार गरेसँगै कलाकारको क्रेज पनि बढाईदियो। फिल्म ‘म यस्तो गीत गाउँछु’मा काम गरे पछि पलको फ्यान फलोअर्स पनि राम्रै वृद्धि भए। फिल्ममा उनले नायिका पुजा शर्मासँग जोडी बाधेका थिए।
लगातार दुई सफल फिल्म दिएका पल अभिनित तेश्रो फिल्म ‘जोनी जेन्टलम्यान’ प्रदर्शनको तयारीमा छ। यहि शुक्रबार अर्थात भदौ ३० गतेबाट प्रदर्शनमा आउने उक्त फिल्म उनको लागि ह्याट्रिक गर्ने अवसर बनेको छ। दुई फिल्म ‘नाई नभन्नु ल ४’ र ‘म यस्तो गीत गाउँछु’मा लभर ब्वाईको भूमिकामा प्रस्तुत भएका पल यस फिल्ममा भने लभरसँगै एक्सन अवतारमा पनि देखिदै छन्। दुई सफल फिल्म दिएका पलको ‘जोनी जेन्टलम्यान’ सफल भएको खण्डमा उनले ह्याट्रिक नायकको दर्जा पाउने छन्। फिल्मको सार्वजनिक ट्रेलर र गीतबाट पाएको सकारात्मक प्रतिक्रियाले गर्दा फिल्म सफल हुने र आफु ह्याट्रिक गर्न सफल हुनेमा पल विश्वस्त छन्।
नितिन चन्द निर्देशित फिल्म ‘जोनी जेन्टलम्यान’मा पलले नायिका आँचल शर्मासँग स्क्रिन शेयर गरेका छन्। एन्ड्रियु पौडेलले निर्माण गरेको फिल्मका कार्यकारी निर्माता अजय मल्ल ठकुरी हुन्।