असोज ११ मा रिलिज हुने बहुप्रतिक्षित फिल्म ‘छक्का पन्जा २’ ले ‘एक्सप्रेस कमेडी टुर’ को तालिका सार्वजनिक गरेको छ। प्रदर्शन मिति नजिकिदै गर्दा फिल्मको जम्बो टोली मोफसलका दर्शक तथा मिडियासँग सात्क्षात्कार गर्न भदौ २८ गते भ्याली बाहिर निस्किएको हो।
पुर्वबाट थालनी हुने यात्रामा सर्वप्रथम २९ गते दमकमा ‘छक्का पन्जा २’ ले दर्शकसँग रमाईलो गर्नेछ। त्यसपछी ३० गते इटहरी, ३१ गते हेटौडा, असोज १ गते नारायणगढ, २ गते बुटवल र ३ गते पोखरामा ‘छक्का पन्जा २’ टिम पुग्ने निर्माता तथा अभिनेता दीपकराज गिरीले जानकारी दिएका छन्।
पोखराबाट राजधानी फिर्ने ‘छक्का पन्जा २’ टिम फिल्म रिलिज पश्चात पुन: हल रिपोर्ट बुझ्न मोफसलका बाँकी स्थानमा पुग्नेछ। कमेडी टुरमा प्रियंका कार्की, दीपकराज गिरी, वर्षा राउत, स्वस्तिमा खड्का, स्वरूपपुरुष ढकाल, केदार घिमिरे, जितु नेपाल, लगायतका कलाकार उक्त टुरमा सहभागी हुने निर्देशक दीपाश्री निरौलाले जानकारी दिईन्।
गीत र संगीत, ट्रेलर, हिट व्यानर, मल्टीस्टारर टिमका कारण ‘छक्का पन्जा २’ अहिले खुबै चर्चामा छ। ‘छक्का पन्जा’ ले नेपाली बक्सअफिसमा सर्वाधिक कलेक्सन गरेका कारण यसको सिक्वेल बक्सअफिसमा पनि प्रतिक्षित बनेको हो।