केही दिन अगाडी आफ्नो काम विशेषले अमेरिका पुगेका नायक राजेश हमालले आफ्नो नयाँ चलचित्र शकुन्तला हेरिदिन दर्शकहरुलाई एक भिडियो सन्देश पठाएका छन् । १ मिनेट लामो भिडियोमा राजेश हमालले चलचित्र शकुन्तला सबैले एकपटक हेरिदिन आग्रह गरेका छन् । उनले भनेका छन्, ‘चलचित्रमा काम गर्दा गाह्रो र रमाइलो महशुस भयो । एउटा मनोरञ्जनात्मक चलचित्र बनेको छ । म चलचित्रमा शकुन्तलाको भुमिकामा छु । भदौ ९ गतेबाट चलचित्र देशभरका हलहरुमा लाग्दैछ त्यसैले एकपटक चलचित्र शकुन्नतला सबैले हेरिदिन अनुरोध गर्छु ।’ चलचित्रको प्रचार छोडेर अमेरिकामा हानिएको आरोप खेप्दै आएका राजेशको यो भिडियो सन्देशबाट भने निर्माणपक्षलाई केही भए पनि राहत महशुस भएको छ । पहिलो पटक नारीको भेषमा शकुन्तला बनेर चलचित्रमा देखिन लागेका राजेश हमाल अभिनित चलचित्र शकूनतलामा अनु शाह, किशोर खतिवडा लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई दिनेश श्रेष्ठले निर्देशन गरेका हुन् ।