राजधानीका पेट्रोल पम्पमा केही दिनदेखि उपभोक्ताको लाइन थेगिनसक्नुको छ। केही पेट्रोलपम्पमा भने पेट्रोल नभएको बोर्ड झुण्डिएको छ।
नेपाल आयल निगमका थानकोट डिपो प्रमुख रविन शर्मा भने अब समस्या नहुने दावी गर्छन्। उनले पहिलोपोस्टसँग भने – ‘अब पेट्रोलको समस्या हुँदैन। आजबाट हामीले माग अनुसारको पेट्रोल बजारमा पठाइसकेका छौँ। लाइन बसेर तेलको स्टक नराख्नु होला।’
डिपो प्रमुख शर्माका अनुसार सोमबार बजारमा ६ लाख लिटर पेट्रोल पठाइएको छ।
‘बाहिर गलत हल्ला भइरहेको छ। हामीसित बजारको माग अनुसारको पेट्रोल वितरण गर्ने क्षमता छ’, शर्माले भने।
अहिले राजधानीमा दैनिक करिब ४ लाख लिटर पेट्रालको माग हुँदै आएको छ। शर्माले भारतबाट पनि साविक बरावरको इन्धन नेपाल भित्रिएको समेत जानकारी दिएका छन्।
प्रधानमन्त्रीको चासो
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ उपत्यकामा देखिएको इन्धन अभावबारे आपूर्ति मन्त्री दीपक बोहरासँग टेलिफोनमा चासो राखेका छन्।
प्रधानमन्त्रीले पेट्रोल पम्पहरुमा लाइन लाग्नथाल्नुको कारण पत्ता लगाई यसको तत्काल समाधानकालागि प्रयत्न गर्न निर्देशन दिएका हुन्।
जवाफमा आपूर्तिमन्त्री बोहराले तीन दिन लामो बिदाका कारण उपत्यकामा इन्धनको आपूर्तिमा केही समस्या देखिएको भन्दै मन्त्रालयले जुनसुकै परिस्थिति र समयमा पनि पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या नआउने गरी आपूर्ति व्यवस्था सहज गर्ने तयारीमा लागेको जानकारी दिएका थिए। -पहिलोपोस्ट