यो बर्षको भदौ महिना नेपाली चलचित्रक्षेत्रका लागि विशेष छ भन्दा फरक पर्दैन । किनकी अन्य महिनाको तुलनामा यस बर्षको भदौमा झण्डै दर्जनको आसपासमा नेपाली चलचित्रहरु प्रदर्शनमा आउँदैछन् । श्रीकृष्ण जन्मअष्टमी र महिलाहरुको महानपर्व हरितालिका तिज यही भदौ महिनामा भएका कारण यो बर्षको भदौ महिनामा नेपाली चलचित्रको बाढी नै लागेको छ । नेपाली सिनेमा घरहरुमा एक महिनामा ४ देखी ५ वटा चलचित्र प्रदर्शन भइरहेको अबस्थामा यो भदौ महिनामा भने झण्डै एक दर्जन नेपाली चलचित्रहरु प्रदर्शनमा आउँदैछन् । भदौमा दुई चलचित्र बाहेक अन्य चलचित्रहरु एकअर्कासँग जुध्नका लागि तयार भएर बसेका छन् ।
गएको शुक्रबार दुई चलचित्र ‘चपली हाईट २’ र ‘वीर विक्रम’ प्रदर्शनमा आइसकेका छन् । खबरका अनुसार अहिले यि दुवै चलचित्रले सुखद व्यापार गरिरहेका छन् । अब यो बिहिबार राजेश हमाल अभिनित चलचित्र ‘शकुन्तला’ सोलो रिलिजमा उत्रिदैछ भने अर्को हप्तामा ३ चलचित्र एकसाथ प्रदर्शनमा आउँदैछन् । भदौ १७ गते चलचित्र ‘ब्रासलेट’, ‘लालजोडी’, ‘बृन्दावन’ एकसाथ प्रदर्शनमा आउने तयारीमा रहेका छन भने भदौको २४ गते सोलो रिलिजमा हास्यकलाकारहरुको अभिनय रहेको चलचित्र ‘छक्का पञ्जा’ आउँदैछ । त्यस्तै भदौको ३१ गते ‘गाँठो’, ‘ड्राइभर दाई’ र ‘विजुली मेसिन’ प्रदर्शनमा आउने तयारीमा रहेका छन् । यसरी हेर्दा यो महिनामा नेपाली चलचित्रहरुको लडाई राम्रै हुने देखिन्छ ।