भदौं १७ गते चलचित्र ‘ब्रासलेट’सँग एकसाथ प्रदर्शनमा आउन लागेको कमेडी चलचित्र ‘लालजोडी’को ट्रेलर र गीत सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमका बिच चलचित्र यूनिटले पत्रकारमाझ चलचित्रको ट्रेलर र गीत सार्वजनिक गरेको हो । चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा चलचित्रका निर्देशक लक्ष्मण सुवेदीले चलचित्र लालजोडी आफ्नो लागि ड्रिम प्रोजेक्ट रहेको बताए । उनले भने -‘मैले निकै मेहेनत गरेर चलचित्र लालजोडी निर्माण गरेको हुँ । यदी यो चलचित्र चलेन भने म अरु कुनै पनि चलचित्र बनाउँदिन ।’
उनका अनुसार चलचित्र दर्शकहरुका लागि उत्कृष्ट लाग्ने दाबी गरे । त्यस्तै चलचित्रकी नायिका रजनी केसीले आफु चलचित्र लालजोडीमा फरक भुमिकामा देखिन लागेको बताइन । चलचित्रका मुख्य कलाकार ज्योती काफ्लेले चलचित्रको कथावस्तु मनपरेका कारण काम गरेको खुलाए । उनले चलचित्र लालजोडीको कथावस्तुले जो कोहीको मन जित्ने पनि दाबी गरे । त्यस्तै सोही कार्यक्रममा बोल्दै कलाकार वुद्धी तामाङ, नायिका आयुष्मा कार्कीले चलचित्र लालजोडी राम्रो बनेको बताएका थिए ।