काठमाडौं । आगामी जेठ ११ गतेबाट रिलिज हुने फिल्म फिल्म मुख्यतया दुई कारणले चर्चामा छन् । पहिलो कुरा फिल्मका नायक आकाश श्रेष्ठ र नायिका आँचलको रोमान्स अनि दोस्रो कुरा फिल्ममा प्रयोग गरिएको भिएफएक्सन पनि चर्चाको विषय छ ।
फिल्मका निर्देशक प्रदिप श्रेष्ठ भन्छन्, ‘फ्लोरमा जति खर्च र मेहनत गरियो, त्यो भन्दा बढि त प्रविधिसँग जुध्नुपर्यो, फिल्ममा समावेश विभिन्न दृश्यलाई भिएफएक्स गर्न मात्रै करिब १ बर्ष लाग्यो ।’ उनका अनुसार फिल्मलाई अन्तर्रा्ष्ट्रिय बजारमा जाँदै गर्दा पनि नेपाली फिल्मको स्तर यहाँसम्म पुग्यो भन्ने परिचय दिनेगरी बिना कुनै कन्जुस्याइँ भिएफएक्समा लगानी र समय खर्चिएको छ ।
निर्देशक श्रेष्ठको कुरालाई पछिल्लो पटक रिलिज उक्त फिल्मको एक गीत ’पल पल हरपल’मा समावेश भिएफएक्सको पाटोले पनि थप पुष्टि गर्छ । उक्त गीतमा दर्शकले प्राकृतिक मान्ने गरी दुरुस्तै देखिने प्रकारले थुप्रै दृश्य भिएफएक्सको माध्यमबाट ‘नेचुरल’ देखाइएको छ । समिर मियाले गरेको भिएफएक्समा दर्शकले प्राकृतिक लाग्ने सौन्दर्य देख्न पाउने श्रेष्ठको दाबी छ ।
मौनता श्रेष्ठको कथामा तयार भएको ’ब्ल्याक’मा कोरियोग्राफी रामजी लामिछानेको छ भने छायाँकन रामशरण उप्रेतीले गरेका छन् । आश्मा पाण्डेको निर्माणमा बनेको फिल्ममा आकाश श्रेष्ठ आँचल शर्मा, सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशिल क्षेत्री, धिरेन शाक्य, प्रिया रिजाल लिड अभिनयमा छन् ।
द्वन्द्व चन्द्र पन्तको रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । उपत्यकामा गोविन्द शाही र मोफसलमा उज्जल पौडेल, मनोज राठीले ‘ब्ल्याक’लाई वितरणको जिम्मा लिएका छन् । भिएफएक्समा समिरसँग श्रीकृष्ण श्रेष्ठले साझेदारी गरेका छन् ।