मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री तथा नेपाली चेली मनिषा कोइराला र अभिनेता सञ्जय दत्त लामो समयपछि फिल्ममा सँगै देखिने भएका छन् । सञ्जय आफ्नो होम प्रोडक्सनलाई ७ वर्ष पछि ब्युताउन लागेपछि मनिषा सोही व्यानरको फिल्ममा सञ्जयकी श्रीमतिको भूमिकामा देखिँदैछिन् । सञ्जय सन् २०१० को हिट तेलुगू फिल्म ‘प्रस्थानम’ हिन्दी रिमेक बनाउँदैछन् । फिल्ममा अली फजल र अमायरा दस्तूर पनि हुनेछन् ।
फिल्मको काम सञ्जयकी आमा नर्गिस दत्तको ८९ औं जन्मदिनको अवसर पारेर लखनऊबाट शुरु हुनेछ । सञ्जय र मनिषा यसअघि फिरोज खानको सन् १९९२ को एक्सन फिल्म ‘यलगार’मा देखिएका थिए । यसपछि उनीहरु ‘सनम’, ‘कारतूस’, ‘खौफ’ र ‘बागी’मा देखिएका थिए । २००८ मा अफजल खानको ‘महबूबा’मा पनि उनीहरु देखिएका थिए ।
मनिषा र सञ्जय सँगै काम गर्न पाउन लाग्दा निकै उत्साहित छन् । मनिषालाई स्क्रिप्ट मनपरेको छ र उनी सञ्जयसँग तुरुन्तै काम गर्न चाहन्छिन् ।