आफ्नो व्यानर भन्दा बाहिरका कुनै पनि चलचित्रमा खासै काम नगर्ने नायिका रेखा थापाले अभिनय गरेको चलचित्र ‘पलाँस’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा रेखाको कस्तो भुमिका छ भन्ने देखाउन खोजिएको छैन भने टिजरमा कुनै पनि संवाद राखिएको छैन । तिहारलाई लक्षित गरेर सार्वजनिक प्रदर्शनमा आउन लागेको यो चलचित्रमा रेखा थापा, अयुव केसी र कामेश्वर चौरासिया मुख्य भूमिकामा छन् । यो चलचित्रलाई सुवास कोइरालाले निर्देशन गरेका हुन् । चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, सानु कुमार महर्जनको एक्सन, सुवास कोइरालाको कथा, उज्ज्वल ढकालको सम्पादन, अर्जुन पोख्रेलको संगीत छ । तराईका विभिन्न स्थानमा छायांकन गरिएको यो चलचित्रको कथावस्तु उत्कृष्ट रहेको र ट्रेलरमा नायिका रेखा थापाको भूमिका खुलाउने निर्माणपक्षले जानकारी दिएको छ ।
आफ्नो व्यानरभन्दा बाहिरको चलचित्रमा काम गर्दा रेखालाई फलिफाप भएको भने देखिएको छैन । उनले आफ्नो व्यानर भन्दा बाहिरको चलचित्र ‘तथास्तु’ र ‘जाउँ हिँड पोखारा’मा पनि काम गरेकी थिइन तर रेखालाई भनेर दर्शकहरु यि चलचित्र हेर्न हलसम्म गएनन् । आफ्नो व्यानरभन्दा बाहिरको चलचित्रमा काम गर्दा खासै सफल नदेखिएकी रेखालाई अब पलाँसले कस्तो सफलता दिलाउने हो त्यो भने हेर्न बाँकी नै छ । भन्ने गरिन्छ नेपालमा कोही नायिकाको कारण चलचित्र चल्छ भने ति अभिनेत्री रेखा थापा हुन् तर उही रेखा थापाले आफ्नो व्यानरभन्दा बाहिरको चलचित्रमा काम गर्दा फल्प भएको पनि उदारहण छन् ।
त्यसो त इन्साफ, कसम हजुरको जस्ता फल्प फिल्म पस्किसकेकी निर्मात्री कृषा चौलागाईको लागि पनि यो चलचित्र चलाउनु कम चुनौती पूर्ण छैन । पात्रलाई न्याय नगर्दा सविर श्रेष्ठ निर्देशित उनको पछिल्लो चलचित्र ‘के म तिम्रो साथी बन्न सक्छु’ पनि अपुरो र अधुरो रहेको धेरै समिक्षकहरुको ठम्याई थियो । निर्देशकको काममा हावी हुने सोचका कारण कतै कृषाको यो चलचित्रले पनि पुरानै हविगत वेहोर्ने त होइन भन्ने अडकल बाजी अहिले सिनेवृतमा चल्न थालेको छ ।