हिजो बिहिबार मोफसलबाट प्रदर्शन आरम्भ गरेको चलचित्र ‘शकुन्तला’ आज शुक्रबारबाट भने राजधानी भित्र पनि प्रदर्शनमा आएको छ । श्रीकृष्ण जन्मअष्टमीलाई लक्षित गर्दै प्रदर्शनमा आएको चलचित्र ‘शकुन्तला’ सोलो रिलिजमा उत्रिएको छ । पहिलो पटक पर्दामा नारी अवतारमा देखिएका राजेश हमाल अभिनित चलचित्र ‘शकुन्तला’ शुक्रबारदेखि राजधानीका दर्जन बढी हलबाट प्रदर्शनमा आएको छ । राजेश हमालसँगै किशोर खतिवडा, अनु शाह, स्मृति श्रेष्ठ लगाएतका कलाकारहरुको अभिनय रहेको यो चलचित्रलाई दिनेश श्रेष्ठले निर्देशन गरेका हुन् । वुधबारमात्र चलचित्र सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट पाएको ‘शकुन्तला’ हेर्न १६ बर्षभन्दा मुनीका बालबालिकाहरुले अभिभावकसाथमा जानु पर्नेछ । नारी अवतारमा राजेश हमालको खतरनाक एक्शन दृश्यका कारण चलचित्रलाई सेन्सर बोर्डका सदस्यहरुले पिजी सर्टिफिकेट दिएको निर्देशक दिनेश श्रेष्ठले जानकारी दिए । साडी, चोली, पोते, टिका लगाएका राजेश हमाललाई दर्शकहरुले पहिलो पटक नारीको भेषमा देख्न पाउनेछन् । चलचित्रले नारीको संवेदनालाई मुख्य विषय बनाएको छ ।