काठमाडौं | रिलिज मिति नजिकिँदै गर्दा फिल्म ‘इन्टु मिन्टु लन्डनमा’ले आफ्नो प्रचार-प्रसारको सुरुवात गरेको छ। प्रचारको लागि निर्माण युनिट मोफसल दौडाहामा निस्कने भएको छ।
भदौ १६ गतेबाट मोफसल निस्कने टिम विर्तामोड, दमक, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा, चितवन र बुटवलसम्म पुग्नेछ। देशका प्रमुख ९ सहरमा हुने टुरमा पत्रकार भेटघाटदेखि सांगीतिक कन्सर्टको आयोजना गरिने तय भएको छ।
मोफसलमा रहेका दर्शकहरुलाई फिल्मको बारेमा बताउनको लागि मोफसल टुर आयोजना गरिएको निर्देशक रेनशा वान्तवा राईले बताइन्। मोफसल टुरमा रेनशासँगै फिल्मका लिड कलाकर साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगरले पनि उपस्थिती जनाउनेछन्।
असोज ५ गतेबाट प्रदर्शनमा आउने यस फिल्ममा साम्राज्ञी र धिरजसँगै विवेक लिम्बू, शारुक ताम्राकार, सुनिशा बजगाईंलगायतका कलाकारहरूको अभिनय रहनेछ। ‘आई कोर फिल्मस्’को ब्यानरमा निर्माण भएको ‘इन्टु मिन्टु लण्डनमा’ प्रभुशमशेर जबरा र प्रज्ज्वलशमशेर जबराको लगानी रहेको छ।