प्रदर्शनमा आएको दोस्रो दिन शनिबार चलचित्र ‘शकुन्तला’ ले दर्शकहरुको राम्रो साथ पाएको छ । वितरक कम्पनीका अनुसार शनिबार चलचित्र ‘शकुन्तला’ ले सुखद विजनेश गरेको छ । चलचित्र शकुन्तला शनिबार राजधानी भित्र र बाहिरका अधिकांश हलहरु हाउसफुल रहेको थियो । चलचित्रका मुख्य पात्र राजेश हमाल अमेरिकामा भएका कारण राजधानी भित्रका केही हलहरुमा चलचित्रका अर्का नायक किशोर खतिवडा पुगेका थिए । दर्शकहरुको निकै चाप रहेको राजधानीका केही हल पुगेका किशोरसँग सेल्फी लिन दर्शकहरुको निकै ठूलो भिड लागेको थियो । चलचित्रका निर्देशक दिनेश श्रेष्ठले शनिबार चलचित्र हेर्न दर्शकहरुको उल्लेख उपस्थिती रहेको जानकारी दिए । यो चलचित्रमा राजेश हमाल र किशोर खतिवडासँगै अनु शाह, स्मृति श्रेष्ठ लगाएतका कलाकारहरुको अभिनय रहेको छ । साडी, चोली, पोते, टिका लगाएका राजेश हमाललाई दर्शकहरुले पहिलो पटक नारीको भेषमा देख्न पाउनेछन् । चलचित्रले नारीको संवेदनालाई मुख्य विषय बनाएको छ ।