चैत्र १ मा रिलिज हुने फिल्म ‘जानी नजानी’को सार्वजनिक गीत ‘एउटीलाई मुटुमा घर’ले दर्शक तथा श्रोताको माया पाईरहेको छ। अम्बिका शर्माको शब्द रहेको गीतमा संगीत अर्जुन पोखरेलको रहेको छ। गीतमा स्वर अर्जुन र दुर्गा खरेलको रहेको छ।
मनिष श्रेष्ठ र सुमी मोक्तान फिचर्ड गीतलाई कविराज गहतराजले कोरियोग्राफ गरेका हुन्। यसलाई युट्युबसँगै टिकटकमा उत्तिकै रुचाइएको छ। गीतको बढ्दो लोकप्रियतालाई ध्यानमा राख्दै निर्माण युनिटले ‘कभर डान्स कम्पिटिसन’को आयोजना गरेको छ।
राजधानीमा एक पत्रकार भेटघाटका बीच निर्माण पक्षले यसको घोषणा गरेको हो। यस गीतमा आफ्नो डान्स भिडियो बनाएर पठाएमा उत्कृष्ट हुने पहिलोले ३२ इन्चको रोवा टिभी, दोस्रोले रोवाकै साउण्ड सिस्टम, तेस्रो र चौथोले हुने २ जनाले द कार्टुन क्रिउसँगको तिन महिने डान्स ट्रेनिङ र पाँचौ हुनेले कान्तिपुर फिल्म एकेडेमीमा एक वर्षको फिल्म डिप्लोमा कोर्स गर्न पाउने छन्।
भिडियो कम्तिमा १ मिनेटको हुनु पर्नेछ भने यसलाई फागुन २० गते भित्र पठाईसक्नु पर्नेछ। यस भिडियो कभर कम्पिटिसनको निर्णायकको रुपमा नृत्य निर्देशक नरेशवीर सिंह रहेका छन्। प्रतियोगीले भिडियो तयार पारेर जानी नजानीको फेसबुक, इन्स्टाग्राम र इमेल आइडीमा भिडियो पठाउन सक्नुहुनेछ। प्राप्त भिडियो मध्यबाट उत्कृष्ट पाँचलाई फागुन २५ गते भित्रमै एक कार्यक्रमको विच पुरस्कार हस्तान्तर गरिने बताइएको छ।
फिल्ममा मनिष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, कृष्णभक्त महर्जन, रोशनी केसी लगायतको पनि अभिनय रहेको छ। आधुनिक प्रेम कथामा आधारित फिल्मको कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् भने यसै फिल्म मार्फत धेरै सफल फिल्ममा मुख्य सहायक निर्देशकको रुपमा काम गरिसकेका बसन्त अधिकारी निर्देशनमा डेब्यु गर्दैछन्।
यसमा प्रेम कथासँगै राष्ट्रियता र युवापुस्ताले बोध गर्नु पर्ने जिम्मेवारीलाई पनि देखाइएको छ। फिल्ममा छायाँकन संजय लामाको रहेको छ भने यसमा संगीत अर्जुन पोखरेलले दिएका छन्। फिल्ममा कविराज गहतराज, प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी रहेको छ। फिल्ममा अर्जुन जिसीको सम्पादन, बसन्त घर्ति मगरको भीएफएक्स रहेको छ भने यसको कलरिस्ट रेनिश फागो हुन्।
रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित फिल्मकी प्रस्तुतकर्ता रोशनी केसी हुन्। फिल्ममा मोदनाथ खनाल र सागर काजी मालीको निर्माण रहेको छ।