सुदर्शन थापा निर्देशित फिल्म ‘सम्हालिन्छ कहिले मन’को छायांकन सुरु भएको छ। बेलायतको राजधानी लण्डनमा क्यामेरा अन गर्दै छायांकन सुरु गरिएको हो।
करिब ५० दिनको छायांकन सेड्यूलको साथमा यसका कलाकार र निर्माण टिम केही दिन अघि मात्र लण्डन पुगेको थियो। छायांकन अगाडि चलचित्रका कलाकार र टिमले क्यामेरा पूजा गरेका थिए। पूजा सकेर चलचित्रको छायांकन सुरु गरिएको निर्देशक थापाले बताए।
फिल्मका लागि नायिका पूजा शर्मा र नव–नायक सोनम तोप्देनले पहिलो सर्ट दिएका छन्। फिल्ममा आकाश श्रेष्ठ, सरोज खनाल, गौरी मल्ल, धिरेन शाक्य लगायतका कलाकारको पनि मुख्य भूमिका छ।
निर्देशक थापाले लण्डन, स्कटल्याण्ड र वेल्समा फिल्मको छायांकन हुने बताएका छन्। ‘एबी इन्टरनेशल’को ब्यानरमा निर्माण हुन लागेको फिल्मको छायांकन बेलायतपछि नेपालको मुस्ताङमा हुनेछ।
अमित बस्नेतको लगानी रहेको फिल्मका कार्यकारी निर्माता अंकित गौतम र सनिष खकुरेल हुन्। फिल्ममा परि राना र अजितकुमार थापाको सह–निर्माण छ। फिल्मलाई संजय लामाले खिचिरहेका छन्।