अभिनेता सुशील श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘लभ डायरिज’ले आफ्नो पूर्ण छायांकन सकाएको छ। आइतबार एक गीतको छायांकन पूरा गर्दै फिल्म प्याकअप भएको हो।
शुक्रबारबाट छायांकन सुरु भएको ‘छम छम छम’ बोलको गीतमा दुर्गा खरेल, सुरेश लामा र कमला घिमिरेको स्वर छ। अर्जुन पोखरेल शब्द/संगीत रहेको गीतलाई हायत होटल परिसरमा खिचिएको छ।

प्रविण सिंहको नृत्य निर्देशन रहेको भिडियोमा सुशिल, रुबिना थापा, विश्वजित रिमालसँगै जुम्ल्याह प्रिज्मा/प्रिन्सी खतिवडा र कमला घिमिरे फिचर छन्। टिक-टक भाइरलहुँदै म्युजिक भिडियोमा व्यस्त प्रिज्मा/प्रिन्सीलाई पहिलो पटक फिल्मको गीतमा फिचर्ड गरिएको हो।
छायांकन सकाएसँगै निर्माण पक्षले नयाँ रिलिज डेट पनि तय गरेको छ। फिल्मलाई फागुन २ (भ्यालेन्टाइन डे)मा रिलिज गर्ने बताइएको छ। सौरभ चौधरी निर्देशित लभस्टोरी फिल्मलाई संजय लामाले खिचेको छन्। मधु बास्तोलाको कथा/पटकथा रहेको फिल्मका सह-निर्देशक शाहिल खान हुन्। विनोद सापकोटा निर्माता रहेको फिल्ममा सरोज तुलाधरको सह-निर्माण छ।