अभिनेत्री क्याटरिना कैफ अहिले धर्मा प्रोडक्सनको फिल्म ‘बार बार देखो’को चर्चासँगै चर्चामा छिन् । रणवीर कपुरसँग सम्बन्ध बिग्रिएपछि र पछिल्लो रिलिज ‘फितूर’ ‘फ्लप’ भएपछि अहिले क्याटरिनाको फिल्मी करियर नै ढामाढोल भएको खबर चलिरहेको छ । त्यसैले होला उनलाई करियरको विषयमा प्रश्न उठ्न सक्ने उनी स्वयंले अनुमान गरेकी छिन् । ‘बलिउडमा रहनु वा यसबाट बाहिरिने कुरा आफूमा भर पर्दैन, भाग्यमा भर पर्छ,’ एक अन्तर्वार्तामा उनले भनिन्, ‘अहिले मलाई काम मिलिरहेको छ । काम पाएसम्म गरिरहनेछु ।’ १३ वर्षे बलिउड यात्रामा क्याटरिनाले लगभग सबै ठूला ‘स्टार’सँग काम गरेकी छिन् । यस विषयमा उनले एक अन्तर्वार्तामा भनेकी थिइन, ‘आमिर काममा पुरै डुब्छन्, साहरुख को–स्टार्सको ख्याल राख्छन् र अक्षय लगनसाथ आफ्नो काम गर्छन् । सलमानचाहिँ जे गर्छन्, मनैबाट गर्छन् ।’