नवनियुक्त स्वास्थ्य मन्त्री गगन थापा भदौ १६ गते बिहीबार जुनबेला वीर अस्पतालको निरीक्षण गरिरहेका थिए । ठीक त्यसैबेला सरलपत्रिका टिम स्वास्थ्य मन्त्रालयको भवन र परिसरको अवलोकन गरिरहेको थियो ।
बीर अस्पतालबाट फर्किएर दिउँसो एक बजे मन्त्री थापाले मन्त्रालयमै पत्रकार सम्मेलन गरे । हामीलाई आशा थियो कि युवा मन्त्रीले शहरमा कुनै पनि सवारी साधनले हर्न बजाउन नपाउने कुरा घोषणा गर्ने छन् ! तर त्यसो भएन । तै यो अवसर अझै पनि उनको हातबाट फुत्किसकेको छैन ।
स्वास्थ्य क्षेत्रको जिम्मा पाएको स्वास्थ्य मन्त्रालय आफंै कति स्वस्थ छ भन्ने पक्ष महत्वपूर्ण हुन्छ । त्यसमाथि मन्त्री गगन थापा मुलुककै आशलाग्दा नेता मानिएका छन् । खासगरी युवा पुस्ता उनलाई नेपाली राजनीतिको ‘आइकन लिडर’ देख्न चाहन्छ । सोच,कार्यशैली र जनसम्पर्कका आधारमा उनले भविष्यमा सिंगो मुलुकलाई नै नेतृत्व गरुन भनेर कामना गर्नेहरुको पनि कमी छैन ।
तर यति नै बेला मन्त्री थापाका मतदाता, शुभचिन्तक र जनताको ठूलो पंक्तिमा एउटा चिन्ता उत्पन्न भएको छ–२०६२-०६३ को जनआन्दोलनयता तिब्र रफ्तारका साथ शिखरतर्फ उन्मुख उनको राजनीतिक आरोहण मन्त्री बन्नासाथ कतै आधार शिविरमै सीमित हुने हो कि ?
स्वास्थ्य मन्त्रीका रुपमा उनको कार्यकाल अन्य नेताहरु झैं ‘आयाराम गयाराम’जस्तो हुनुहुँदैन, उनले स्वास्थ्य क्षेत्रमा ऐतिहासिक र सार्थक भूमिका निर्वाह गर्नैपर्छ भनी कामना गर्नेेहरुको पंक्ति ठूलो छ । त्यसका लागि ठूल्ठूला गफ दिने, अनेक स्टण्टबाजी गर्ने र सस्तो प्रचारका लागि केही काम गरेजस्तो गर्ने या सही अर्थमा स्वास्थ्य क्षेत्रको सुधार थाल्ने ? मन्त्री थापा सामु चुनौतीपूर्ण प्रश्नहरुको ताँती पनि छ ।
जनता अब सरकारबाट ‘जेन्यूइन एक्सन’ चाहन्छन् । स्वास्थ्य मन्त्रालयको ताजा अवलोकनपछि यो निष्कर्ष निकाल्न गाह्रो परेन कि, वीर अस्पतालको निरीक्षण गर्नुपहिले मन्त्री थापाले आफ्नै स्वास्थ्य मन्त्रालयको निरीक्षण गरेको भए उत्तम हुन्थ्यो । सुधारको पहल आफ्नै मन्त्रालयबाट गर्नुपथ्र्यो ।
2nd Photo
मन्त्री थापाले विहीबार वीर अस्पतालको निरीक्षण गरिरहँदा यता स्वास्थ्य मन्त्रालयको मुल गेटमै मिनरल वाटरका खाली बोतलहरु लडिरहेका थिए । सरसफाई नै स्वस्थ जीवनको मुल आधार हो । मुलुकबासीकै जीवन स्वस्थ राख्ने जिम्मा लिएको स्वास्थ्य मन्त्रालय परिसर भने स्वयं फोहोर रहेको पाइयो ।
मन्त्रालयको मुख्य भवनको पहिलो तलामा प्रवेश गर्नासाथ केही यस्ता दृश्यहरु देखिए, जसले स्वास्थ्य मन्त्रालयको सफाई व्यवस्थापन कति कमजोर रहेछ भन्ने झल्काउँथ्यो । पहिलो तलाकै दाहिने गल्लीतिर अघि बढ्दै जाँदा एउटा कुनामा फूलका गमला अलपत्र थिए । फुटेका गमलामाथि अर्को गमला खप्टाएर राखिएको थियो र त्यसलाई ‘एस्ट्रे’मा परिणत गरिएको थियो । ती गमलामा चुरोटका ठुटा, कागजका टुक्रा र अन्य फोहोर कोचिएको देखिन्थ्यो र त्यहाँबाट दुर्गन्ध पनि आइरहेको थियो । धुमपान स्वास्थ्यका लागि हानिकारक भनेर स्वयं स्वास्थ्य मन्त्रालयको सन्देश जनजनमा प्रवाहित हुने गर्छ । पहिलो तलाकै पछाडितर्फ एउटा कोठामा पुरानो थोत्रो टेबल त्यसै अलपत्र थियो । त्यो टेबलमाथि पुराना सोफा घोप्टाएर राखिएको थियो भने कुडाकर्कटहरुको थुप्रो थियो । तिनमा धुलो जमेको थियो ।
सरल पत्रिका टिम मन्त्रालयको पछाडितर्फ रहेको क्यान्टिनमा पुग्यो । क्यान्टिनकै छेउमा दुईवटा पुराना थोत्रा गाडीहरु त्यसै अलपत्र थिए । ती कवाडी गाडीलाई तह लगाएर त्यो क्षेत्रमा सुन्दर बगँैचा निर्माण गर्न सकिन्थ्यो । तर, मन्त्रालयका कर्मचारीमा सफाइ र सौन्दर्य चेत पटक्कै रहेनछ भन्ने यो एउटा उदाहरण हो।
अलपत्र कवाडी गाडीकै छेउमा दुर्गन्धित फोहोरहरुको थुप्रो थियो । कुडाकर्कट त्यसै असरल्ल छरिएका थिए । मानौं, त्यो कुनै डम्पिङ साइट हो ।
क्यान्टिन भवनको छतमा पानीको ट्याँकीबाट खानेपानी भरिएर पोखिँदै थियो । कसैले त्यो धारा बन्द गरिरहेको थिएन । राजधानीमा पानीको संकट भइरहेको बेला मन्त्रालयमा भने पानी त्यसै खेर गइरहेको थियो । खानेपानी खेर फाल्नु हुन्न भन्ने चेतना पनि त्यहाँ पटक्कै पाइएन ।
क्यान्टिनको पछाडितर्फ रहेको शौचालयको अवस्था झन् दयनीय थियो । बेसीनमा धारा थिएन । केही सेकेन्ड उभिएर पिसाब फेर्नसमेत नसकिने अवस्था थियो । युरीनरी सामग्री सबै फुटेर काम नलाग्ने भएका थिए । तिनमा जमेका फोहर घिनलाग्दो देखिन्थ्यो । मन्त्रालयको सफाई व्यवस्थापनले त्यहाँ वर्षौैंदेखि ध्यान नपु¥याएको स्पष्ट देखिन्थ्यो ।
मन्त्रालय भवनको पृष्ठ भागका भित्तामा विभिन्न झार उम्रिएका थिए । स्वास्थ्य क्षेत्रका विकृतिलाई जरैदेखि उखेल्नुअघि मन्त्री थापाले पहिला आफ्नै मन्त्रालयका ती झारहरु उखेल्नु जरुरी छ ।
मन्त्रालयको दोस्रो तलामा उक्लँदै गर्दा भ¥याङको दाहिनेतर्फ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारीहरुको नामावली लेखिएको पुरानो ठूलो बोर्ड भर््याङ्गमुनी अलपत्र थन्किएको देखियो । स्वास्थ्य मन्त्रालय बेग्लै भएपछि काम नलाग्ने भएको त्यो बोर्डलाई त्यहाँबाट हटाएर मन्त्रालयलाई चुस्त दुरुस्त र सफा राख्ने कामसमेत नगरेको पाइयो । त्यही भ¥याङ भएर मन्त्री थापा पक्कै आफ्नो कार्यकक्षमा गए होलान्, किनकी बाटो त्यही हो, तर उनले त्यो अलपत्र बोर्ड देखेनन्, देखेको भए त त्यो त्यहाँ हुँदैनथ्यो होला !
दोस्रो तला उक्लनुअघि पश्चिमतर्फको भित्तामा आधी च्यातिएको अवस्थामा रहेको पोष्टरको कुरुप दृश्य देखियो । कुनै कर्मचारी युनियनले मन्त्रालयभित्र टाँसेको त्यो पोष्टरले मन्त्रालयको सरसफाई चेत झल्काउँथ्यो ।
दोस्रो तलामा अद्भूत दृश्य देखियो । ‘स्वास्थ्य क्षेत्र सुधार शाखा’ रहेछ । त्यसको एकातर्फ पुरुष शौचालय र अर्कोतर्फ महिला शौचालय रहेछ । नजिक पुग्दा नै थाहा भो, त्यहाँ शौचालय छ । सुधार शाखाले छेउकै शौचालयको अवस्था सुधार्न सकेको रहेनछ ।
पुरुष शौचालयमा पुग्दा भित्रपट्टी ढोकानेरै एउटा ठूलो डष्टबिनमा फोहर अलपत्र थियो र त्यसको दुर्गन्ध बाहिरसम्म आइरहेको थियो । शौचालयमा दिसा बाहिरै देखिन्थ्यो । त्यहाँको दृश्य हेर्दा स्वास्थ्य मन्त्रालयकै कर्मचारीहरुलाई केही दिन सरसफाई तालिमको आवश्यकता देखिन्थ्यो ।
दोस्रो तलामै शौचालयबाट ठीक दक्षिणतर्फ मन्त्री थापाको कार्यकक्ष थियो । सायद आगामी दिनमा मन्त्रीले त्यो दुरवस्था दुर्गन्धबाटै महसुस गर्लान् कि ?
मन्त्रालका भित्ताहरुमा कर्मचारी युनियनका अनेक पोष्टर टाँसिएका थिए । आगन्तुक कक्षका सोफाहरु भद्रगोल पाराले राखिएका थिए । सोफामा राखिएका कुसनका खोलहरु धेरैदिनदेखि नधोएको स्पष्ट झल्किन्थ्यो । कुसनहरु उल्टापाल्टा पारेर अब्यवस्थित पाराले राखिएका थिए । त्यसबाट मन्त्रालयको ‘हाउस किपिङ’ र सफाई व्यवस्थापन कति दयनीय रहेछ भन्ने झल्कन्थ्यो ।
मुख्य अधिकारीहरुको कार्यकक्ष सुनसान पाइयो । कर्मचारीहरुको आन्तरिक बैठक चलिरहेको रहेछ । त्यो बैठकमा जलपानका रुपमा कोक, फान्टा र स्प्राइटका बोतल लगिएको थियो । स्वास्थ्यका दृष्टिले त्यस्ता पेय पदार्थ उत्तम हैनन् भन्ने ज्ञान पनि मन्त्रालयका कर्मचारीमा रहेनछ । उनीहरुलाई स्वस्थ आहारकै बारेमा केही दिन प्रशिक्षण दिनुपर्ने देखियो ।
दिउँसो एक बजे मन्त्रालयमै मन्त्री थापाले पत्रकार सम्मेलन गरे । पत्रकार सम्मेलनमा मन्त्री थापाले नेताहरुको उपचार स्वदेशमै गर्ने व्यवस्था मिलाउनेलगायत स्वास्थ्य क्षेत्रका सुधारबारेमा धेरै कुरा गरे । तर, उनले आफ्नै मन्त्रालयको फोहर देखेनन् र त्यसको सरसफाईको बारेमा केही बोलेनन् । पत्रकारहरुले पनि मन्त्रालयको दुरवस्था देखनन् र कुनै प्रश्न पनि सोधेनन् ।
मन्त्रालय परिसरमा झट्ट हेर्दा देखिने बगैचाका फूलहरुको सौन्दर्य त सबैले देखे, तर नदेखिने ठाउँमा लुकेका विकृति कसैले देखेनन् र त्यसबारेमा प्रश्न पनि गरेनन् ।
मन्त्री गगन थापा यदि यो देशको आइकन लिडर हुने हो र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याउने हो भने पहिले त आफ्नै मन्त्रालयको गगनमुनीको दुरवस्था हटाउनु जरुरी छ ।
किनकी, स्वास्थ्य भनेको सरसफाई हो । स्वास्थ्य मन्त्रालय नै सफा भएन भने त्यो मन्त्रालयमा बस्नेहरुले देशलाई कसरी स्वस्थ बनाउलान् भनेर सर्बसाधारण जनताले प्रश्न उठाईरहन पाउने छन् ?